Logo

नाकाबन्दी हटेसँगै खुल्न थाले सन्ध्याकालिन काउण्टर, तर, छैनन् कस्टुमर

नाकाबन्दी हटेसँगै खुल्न थाले सन्ध्याकालिन काउण्टर, तर, छैनन् कस्टुमर


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । भारतीय नाकाबन्दीसँगै बन्द भएको बैंकहरुको सन्ध्याकालिन काउण्टर पुनः सुचारु हुन थालेको छ । नाकाबन्दी हटेसँगै बैंकहरुले सन्ध्याकालिन काउण्टर संचालन गर्न शुरु गरेको नेपाल बैंकर एशोसियशनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए । ‘भर्खरै एनएमबी बैंकले केही स्थानमा सन्ध्याकालिन काउन्टर संचालनमा ल्याएको छ भने अरु बैंकहरुले पनि संचालनमा ल्याउन थालेका छन्,’ उनले भने, ‘इन्धनको सहजतासँगै सवै बैंकहरुले संचालमा ल्याउने छन् ।’

सन्ध्याकालिन काउण्टर बन्द हुँदा उपभोक्तालाई समस्या परेको हुँदा बैंकहरुले क्रमशः संचालन गर्न थालेको समेत पौड्यालले जानकारी दिए । ‘बैंकहरु सेवा प्रदानको लागि एकदमै अगाडी छन्,’ उनले भने, ‘हाल पेट्रोलियम पदार्थको केही सहजता भएकाले सन्ध्याकालिन काउण्टर संचालन गरिसेकेका छन् ।’

यस्तै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य पनि यसै हप्तादेखि सन्ध्याकालिन काउण्टर संचालनमा ल्याउने बताउँछन् । ‘सन्धायकालिन काउण्टर संचालनमा ल्याउने विषयमा आइतबार(आज) मिटिङ छ,’ उनले भने, ‘डिजेलको स्टक हेरी आजैदेखि सन्ध्याकालिन काउण्टर संचालन गरिने छ ।’

इन्धन अभावका कारण बैंकहरुले ३६५ दिने काउण्टर समेत बन्द गरेका थिए । झण्डै २ हप्तादेखि प्रायः सवै बैंकले त्यस्ता काउण्टर भने संचालनमा ल्याइसकेका छन् । आगामी दिनमा सन्ध्याकालिन काउण्टर पनि क्रमशः सञ्चालनम ल्याईने प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर बताउँछन् । ‘पेट्रोलियम पदार्थको केही सहजता भएसँगै सन्ध्याकालिन काउण्टर संचालनको लागि गृहकार्य गरिरहेका छौं,’ उनले भने, ‘आगामी हप्ताभित्रै संचालनमा ल्याउने छौं ।’

बैंकर एशोसियशनका उपाध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भने सन्ध्याकालिन काउण्टर खुलेपनि कस्टुमर पाउन कठिन भएको बताउँछन् । मेगा बैंकले झण्डै २ हप्ता अघि देखि केही स्थानमा सन्ध्याकालिन काउण्टर संचालनमा ल्याएको थियो । तर, एउटा शाखामा मुस्किलले २ देखि ३ जनामात्र कस्टुमर आउने गरेको उनले जानकारी दिए । ‘नाकाबन्दी खुलेपनि अझै सहज रुपमा डिजेल तथा पेट्रोल पाउन सकिएको छैन,’ उनले भने, ‘तसर्थ काउण्टर खुला गरेपनि आर्थिक क्रियाकलाप नबढेकाले ग्राहक आउन सकेका छैनन् ।’ सन्ध्याकालिन काउण्टर संचालन गर्दा ग्राहक नै नआउने भएकाले त्यस्ता काउण्टर संचालन गर्दा बैंकलाई थप भारमात्र पर्ने गरेको उनले जानकारी दिए ।

यस्तै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले पनि सन्ध्याकालिन काउण्टर संचालन गर्दा खर्च मात्र बढी हुने बताउँछन् । ठूलो रकमको कारोवार गर्नुपर्ने ग्राहकहरु दिउसोको समयमा आउने र साना कारोवार एटीएमबाटै हुने हुँदा सन्ध्याकालिन काउण्टरमा खासै चाप नहुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL