Logo

रेडियो दुरसञ्चार उपकरण मापदण्डको मस्यौदा तयार, मापदण्ड विपरितका हटाइने

रेडियो दुरसञ्चार उपकरण मापदण्डको मस्यौदा तयार, मापदण्ड विपरितका हटाइने


रक्षा रेग्मी
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो दूरसञ्चार उपकरणको मापदण्ड तोक्ने तयारी थालेको छ । मापदण्ड तोक्नका लागि हाल गृहकार्य भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । के–कस्ता मापदण्ड बनाउने भन्ने विषयमा प्राधिकरणले मस्यौदा समेत तयार गरिसकेको उनले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले तयार पारेको मस्यौदा माथी साझेदारहरुसँगको अन्तिम चरणको सल्लाह पश्चात फाइनल रिपोर्ट तयार गरिने छ । रिपोर्ट तयार भएसँगै मापदण्ड निर्धारणको प्रक्रिया अघि बढाइने भएको छ ।

प्राधिकरणले रेडियो दूरसञ्चार उपकरणको गुणस्तरलाई बढाउने उद्देश्यका साथ मापदण्ड निर्धारण गर्न लागेको बताएको छ । त्यस्तै उपकरणको सुविधा, गुणस्तर र मानकलगायतको गुणस्तर सो मापदण्डले निर्धारण गर्छ ।

सो मस्यौदामा प्राधिकरणले सेवा प्रदायकलाई कसरी नियमन गर्नेबारे उल्लेख गरिएको अर्यालले बताए । साथै रेडियो उपकरण आयतकर्ता, उत्पादक तथा वितरकहरुको भुमिका तथा कर्तव्यहरुका बारेमा समेत मस्यौदामा उल्लेख गरिएको अर्यालले जानकारी दिए ।

मस्यौदामा रेडियो वेभ तथा रेडियसनको गुणस्तरजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । त्यस्तै रेडियो तरंगबाट मानवीय जोखिम भएको गुनासो आइरहेकोले सो मापदण्ड निर्धाणर गरेपश्चात गुनासो कम हुने विश्वास उनको छ ।

रेडियो तरंगले दैनिक जीवनमा हानी गरेको तथा त्यस्ता उपकरणको गुणस्तर खस्केको गुनासो बढ्न थालेपछि मापदण्ड निर्धारण गर्न आवश्यकता महशुस गरिएको उनले बताए ।

अर्यालका अनुसार प्राधिकरणले बनाउने रेडियो दूरसञ्चार सम्वन्धी मापदण्ड अन्तरराष्ट्रिय स्तरको हुनेछ । ‘दूरसञ्चारको विश्वव्यापी नियामकका रुपमा रहेको अन्तरराष्ट्रिय दूरसञ्चार प्राधिकरण (आईटीयू)ले निर्धारण गरेको मापदण्डलाई नै आधार बनाइने छ’ उनले भने । मापदण्ड निर्धारण गरेपछि विस्तरै मापदण्ड विपरितका उपकरण हटाइदै जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्