Logo

बक्यौता नतिर्ने एयरलाईन्सलाइ प्राधिकरणको ताकेता : ७ दिनभित्र नतिरे बैंक खाता रोक्का गरिने

बक्यौता नतिर्ने एयरलाईन्सलाइ प्राधिकरणको ताकेता : ७ दिनभित्र नतिरे बैंक खाता रोक्का गरिने



काठमाडौं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न ७ एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई ७ दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आईतबार सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ ।

बक्यौता रकम नबुझाउने एयरलाइन्सलाई कानूनी दायरामा ल्याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले सात दिनभित्र एयरलाइन्सले बक्यौता रकम नबुझाए कार्बाही गरिने बताए । उनका अनुसार बक्यौता बुझाउने ७ दिने समय सकिएपछि बक्यौता रकम नबुझाउने सम्बन्धित एयरलाइन्सका सञ्चालकलाई विदेश भ्रमण रोक्नेदेखि बैंक खाता रोक्का गरिनेछ । महानिर्देशक अधिकारीले भने, ‘यो सूचनापछि तुरुन्तै प्रवेशाज्ञा रोक्का हुन्छ । विदेश भ्रमण र नेपाल भरका बैंक खाता रोक्का गरिनेछ ।’

बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यीमध्ये नेकोन एयरको ४ करोड ७२ लाख २५ हजार ३ सय ४३, शिवानी एयरले ५५ लाख ५१ हजार ५३, गोरखा एयरको २० लाख ३५ हजार २९ रुपैयाँ रहेको छ । कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार ७०, स्काइलाइन एयरवेजले ७ लाख ८० हजार ४ सय, एयर काष्ठमण्डपले ७ लाख ३८ हजार ४ सय ४७ र माउण्टेन एयरले ६ लाख १० हजार ८ सय ३४ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

प्राधिकरणका अनुसार ताकेतापछि कर्णाली एयरले बक्यौता तिरेको छ । बक्यौता नतिर्ने अन्य एयरलाइन्सलाई कारबाही गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुनअनुसार सञ्चालकको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL