६ महिनाभित्रै ग्राण्डको केही खरावकर्जा उठाएर बैंकको एनपीए ६ प्रतिशतभन्दा तल झार्ने छौं ।
किष्ट र ग्राण्ड बैंकमा एकै खालका समस्या देखिएका छन् । किष्टमा सफल भइसक्यौं भने अव ग्राण्डमा पनि सफल हुने छौं । आगामी दिनमा ठूला प्रोजेक्टहरु जस्तै पर्यटन, जलविद्युत, सिमेन्ट, स्टील र फर्मास्युटिकल्सलाई प्राथमिकतामा राखेका छौं भने बैंकको शाखा संजाल ठूलो भएकाले साना तथा मझौला उद्योग पनि प्राथमिकतामा छ । आगामी २ वर्षभित्र लगानीकर्तालाई १० प्रतिशत बोनस दिने योजना बनाएका छौं ।मर्जरसँगै कर्मचारी व्यवस्थापन, खरावकर्जा उठौती तथा बैंकको भावी रणनीतिका विषयमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग गरिएको कुराकानीको सार :
ग्राण्ड बैंक मर्जरसँगै प्रभु बैंकमा १ हजार २ सयभन्दा बढी कर्मचारी भएका छन् । यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
मर्जरमा सवैभन्दा ठूलो चुनौती भनेको कर्मचारी व्यस्थापन नै हो । तर, यसअघिको मर्जरमा पनि अन्य संस्थामा भएका कर्मचारीलाई विना भेदभाव व्यवस्थापन गरेका थियौं । तसर्थ ग्राण्ड बैंकका कर्मचारीलाई पनि विना भेदभाव उनीहरुले खाइपाई आएको सेवा सुविधामा अझ बृद्धि गरेर व्यवस्थापन गर्ने छौं । उनीहरुको व्यवस्थापन मात्र नभई आगामी दिनमा कसरी व्यक्तित्व विकास गर्ने विषयमा समेत आन्तरिक रुपमा छलफल गरिरहेका छौं । ग्राण्डका कर्मचारीले पनि आगामी दिनमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेर काम गर्ने प्रतिवद्धता जायर गरिसकेका छन् । तसर्थ आगामी दिनमा प्रभुले ग्राण्डबाट आउने कर्मचारीलाई व्यवस्थापन मात्र नभई उत्तरदायी बैंकरको रुपमा स्थापित गर्नेछ ।
कर्मचारीलाई अझ बढी सेवा सुविधा दिएर व्यवस्थापन गर्ने बताउनु भयो तर उनीहरुको पोर्टफोलियो चाहिँ कसरी मिलाउनु हुन्छ ?
ग्राण्ड बैंकका माथिल्लो तहका कर्मचारी स्वेच्छिक अवकाशमा गइसकेको छन् । केही म्यानेजर, अफिसर्स र एसिस्टेन्स लेवलमा काम गर्ने कर्मचारीहरु मात्र बाँकी छन् । मर्जरसँगै बैंकको शाखा संजाल पनि बढेको छ । तसर्थ उनीहरुको पोर्टपोलियो व्यवस्थापन गर्न कुनै कठिनाई हूँदैन । अहिले जुन पदमा काम गरिरहेका छन् मर्जर पछि पनि सोही तहमा काम गर्नेछन् ।
अहिले ग्राण्ड बैंकको ३४ प्रतिशत खराव कर्जा छ । मर्जरसँगै प्रभुको खरावकर्जा दर बढेको छ । यसलाई कसरी उठाउने योजना बनाउनु भएको छ ?
ग्राण्डको खराव कर्जा केही बढी छ तर, त्यसको खरावकर्जा रेसियो बढ्नुको मुख्य कारण त्यसको कर्जाको रकम घटेर पनि हो । १ वर्षको अन्तरालमा ग्राण्डको कर्जा उच्च रुपमा घटेको छ । आगामी ६ महिना भित्रमा ग्राण्डको केही खराव कर्जा उठाउने योजना बनाएका छौं । मर्जर पश्चात प्रभुको एनपीए ११ दशमलव ५६ प्रतिशत छ, तर असार मसान्तभित्र ६ प्रतिशतभन्दा तल झार्ने छौं ।
प्रभुले धराशयी बनेको किष्टलाई पनि सफल रुपमा मर्जर गरेर अघि बढ्यो तर, ग्राण्डको अवस्था किष्टको भन्दा फरक छ । यसलाई चाहिँ कसरी अघि बढाउने योजना बनाउनु भएको छ ?
प्रकृति दुबै बैंकको एउटै हो । अर्थात किष्ट बैंकसँग मिल्छ । किष्ट र ग्राण्ड बैंक यो अस्वस्थामा आईपुग्नका कारणहरु उस्तैउस्तै छन । किष्टको कर्जा उठाउन जुन रणनीति अपनाएका थियौं सोही रणनीति ग्राण्डका ऋणीहरुमा पनि लागू गछौं । जसका लागि सम्बन्धित ऋणीलाई भेटेर छलफल गर्ने, उनीहरुले राखेका धितो बेच्नका लागि सहयोग गर्ने अथवा आफैले बेचिदिने काम गरेर ऋण उठाउने छौं ।
सानो पूँजीबाट शुरु भएको संस्था मर्जरबाटै यो अवस्थामा आईपुग्यो । अव सेयर होल्डरले कहिलेबाट प्रतिफल पाउनेछन् ?
यसका लागि २ वर्ष लाग्छ । २ वर्ष पछि लगानीकर्तालाई १० प्रतिशत लाभांस दिने छौं ।
अव प्रभुसँग पूँजी पनि ठूलो भइसक्यो । आगामी दिनमा के–कस्ता मेगा प्रोजक्टमा लगानी गर्ने योजना बनाउनु भएको छ ?
अहिले जलविद्युत, होटल, सिमेन्ट उद्योग, अस्पताल, कृषि लगायतका क्षेत्रमा लगानी गरिरहेका छौं । तर, अहिलेको अवस्थामा त्यस्ता ठूलो उद्योगबाट लगानीको प्रस्ताव आएका छैनन् । आगामी दिनमा पनि यही क्षेत्रमा बैंकले लगानी गर्ने छ ।
भुकम्प र नाकाबन्दी पछि बैंकिङ क्षेत्रमा कस्तो असर गरेको छ ?
भुकम्प र नाकाबन्दीले अर्थतन्त्रमा धेरै ठूलो असर पुर्याएको छ । तर, बैंकिङ क्षेत्रमा सो अनुरुप असर गरेको छैन । अहिले राष्ट्र बैंकले बैंकिङ क्षेलाई केही सहुलियत दिएका छन् भने ग्राहकले पनि आफ्नो क्षमता अनुसार साँवा र व्याज तिरेका छन् ।
भारतीय पक्षले लगाएको नाकाबन्दी खुलेको छ । यो अवस्थामा लगानी बृद्धिका लागि व्यवसायीसँग कस्तो ‘डिलिङ’ गरिरहनु भएको छ ?
बैंकको नेटवर्क ठूलो भएको छ । आगामी दिनमा साना तथा मझौला उद्योगमा बढी लगानी गर्ने योजना बनाएका छौं । सोही अनुसार कर्जा प्रवाह गर्न सम्बन्धित ब्राञ्चलाई निर्देशन समेत दिइसकेका छौं । यसैगरी, ठूला प्रोजेक्टमा पर्यटन, जलविद्युत, सिमेन्ट, स्टील र फर्मास्युटिकल्सलाई प्राथमिकतामा राखेका छौं । पछिल्लो समय व्यवसायीहरु कृषि क्षेत्रमा पनि लागेका छन् । यस क्षेत्रको विकासका लागि पनि लगानीको योजना बनाएका छौं ।
हामी अव मर्जर गर्दैनौ तर समस्याग्रस्त संस्थाहरु ‘प्रभु’को शरणमा आएभने त्यसलाई लिएर अघि बढ्छौं भन्नु भएको छ । के अव प्रभु समस्याग्रस्त संस्था सुधारमै केन्द्रित हुने हो ?
समस्यामा परेका संस्थालाई २ किसिमले हेरिनुपर्छ । एउटा राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी बृद्धि गर्न नसकेर समस्यामा परेका छन् भने अको कर्र्जा बिग्रिएर समयमा सावाँ, व्याज उठाउन नसकेर वा विभिन्न कारणले विग्रीएर समस्या भोगिरहेका छन् । यी दुवै समस्याबाट गुज्रिएका बैंक तथा वित्तीयसंस्थाहरुसंग सहकार्य गर्न सकिन्छ भनिएको हो ।
किष्ट र ग्राण्डका कुरा गर्दा दुवै तरिकावाट समस्यामा थिए । यस्तो संस्थालाई कसरी लिएर अघि बढ्ने आट गर्नुभयो ?
यी दुवै संस्था विग्रनुको कारण गहन रुपमा अध्ययन गरियो । अध्ययनको क्रममा व्यवस्थापन गर्न सकिने देखियो । ती संस्थाका व्यक्तिहरु ऋण उठाउने क्रममा केही प्रभावमा परेको देखियो तर हामीलाई त्यस्ता खालका प्रभावले कुनै असर गर्दैन । यस्तै, ऋणीहरुको धितोको वारेमा पनि अध्ययन गरियो । उनीहरुको धितो हेर्दा ऋण उठाउन केही समय लाग्ने भएपनि सुरक्षित भएकाले मर्जर प्रक्रिया अघि बढाएका थियौं । जस अनुसार किष्टमा सफल भइसक्यौं भने ग्राण्डका पनि सफल हुने छौं ।
नेपाल विकास बैंक खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ र केही समयभित्रै प्रभुको नामबाट सेयर जारी गछौं भन्नु भएको थियो । अहिले यो कुन अवस्थामा छ ?
कम्पनी रजिष्ट्ररबाट ग्राण्ड बैकसँगै नेपाल विकास बैंकको पनि सेयर पूँजी जोडिएर आएको छ । तसर्थ अवको केही हप्ताभित्रै नेपाल विकास बैंकको सयरधनीलाई प्रभुको नामबाट सेयर जारी गर्ने छौं ।
प्रभुले वार्षिक ५० अर्ब रेमिट्यान्स भित्र्याउँ तर बैंकले ५४ अर्ब रुपैयाँमात्र निक्षेत्र संकलन गरेको छ । तसर्थ अन्य बैंकले प्रभुलाई प्रतिस्पर्धी नसोचे हुन्छ भन्नुभएको थियो । यसको अर्थ के हो ?
हामीले त्यसो भन्न खोजेका होइनौं । प्रभु रेमिटबाट मात्र वार्षिक ५० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रन्छ भने त्यो रेमिटेन्स रकम त अन्तमा बजारमै विभिन्नरुपमा भित्रिने हो र त्यसको अंश विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेपकोरुपमा आउने भएकोले हामीलाई प्रतिस्पर्धि होइन सहयोगीकोरुपमा लिईदिनुस भनिएको हो ।
अन्य बैंकसँग सहकार्य गरेर अघि बढ्ने उद्घोष गर्नु भएको छ । कसरी सहकार्य गर्ने योजना बनाउनु भएको छ ?
ठूला प्रजेक्टमा एउटा बैंकबाट मात्र लगानी सम्बभव हुँदैन । प्रभु भर्खरै मात्र तङ्ग्रीएको बैंक हो यसले तत्काल ठूला आयोजना नपाउन सक्छ । तर, जुन बैंकले ठूला प्रोजेक्ट पाएका छन् उनीहरुले पनि एक्लै लगानी गर्न सक्दैन । त्यस्ता बैंकलाई सहयोगी बैंक चाहिन्छ । त्यस्तो अवस्थामा हातेमालो गरेर अघि बढ्ने योजना बनाएका छौं ।
मर्खरै ग्राण्डसँग मर्जर गर्नुभएको छ । यो मर्जरसँगै आफ्ना सेयरहोल्डर तथा ग्राहकलाई के भन्न चाहनुहुन्छ ?
बैंकले एक चरणको सफलता हात पारिसकेका छ । तसर्थ लगानीकर्तालाई धैर्यताका साथ बसेर सुझाव दिन अनुरोध गर्छु । ग्राकहरुलाई भने बैंकले दिने सेवा सुविधालाई अझै विस्तार गर्ने छौं । यस्तै बैकको सेवा प्रति सकारात्मक तथा नकारात्मक जस्ता खालका भएपनि सुझान दिन आग्रह गर्छु ।