Logo

सुपारी आयातमा व्यवसायी र सरकारको मिलेमतो, मागभन्दा ५ गुणा बढी आयात

सुपारी आयातमा व्यवसायी र सरकारको मिलेमतो, मागभन्दा ५ गुणा बढी आयात



काठमाडौं । सरकारले व्यवसायीको प्रभावमा परेर आवश्यक भन्दा ५ गुणा बढि सुपारी आयात गर्न दिएको तथ्य बाहिर आएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनले यस्तो देखाएको हो ।

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले ५ हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको उपसमितिका संयोजक रमेशजंग रायमाझीले बताए । उनका अनुसार यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएपनि आउन नमान्ने अवस्थासमेत सिर्जना भएको थियो ।

व्यवसायीको प्रभावमा परेर सरकारले देशमा आवश्यकताभन्दा बढी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । आयात भएको सुपारी भारत जाने गरेको पनि सांसद रायमाझीले बैठकमा सुनाए । यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उनले समिति बैठकमा जानकारी दिए ।

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले शुक्रबार समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL