Logo

पूर्वप्रधानमन्त्री तथा नेका सभापति कोइरालाको निधन

पूर्वप्रधानमन्त्री तथा नेका सभापति कोइरालाको निधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गत राती निधन भएको छ । उनको  सोमवार राती १२ः५० मा आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो ।

कोइराला आसन्न नेपाली कांग्रेसको १३औं महाधिबेशनमा सभापति पदका उम्मेदवार थिए ।

उनी  ७९ बर्षका थिए । उनले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसंग सम्वाद गरेको उनका सहयोगीले जानकारी दिए ।

अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो ।

कोइरालालाई पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । उनमा दमको समेत प्रभाव देखिएकोले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन दिइदै आएको थियो ।

पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित भएका कोइराला त्यस अघि कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्य थिए । प्रधानमन्त्रित्व कालमा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए ।

वि.सं १९९६ साउन २८ गते विराटनगरमा जन्मिएका कोइराला जीवनभर अविवाहित रहे ।  कुमुदिनीदेवी र बोधप्रसादका पुत्र कोइराला ६ जना दाजुभाईमध्येका साइला हुन् । उनका ६ जना दिदीबहिनी थिए । उनी २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न थिए । कोइरालाले ठाकुरराम  हाइस्कूल वीरगञ्जबाट शैक्षिक यात्रा शुरु गरेका थिए ।

२०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी थिए । उनले २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागीता जनाएका थिए ।

कोइराला २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ  परेका थिए ।  सो काण्डमा उनले ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा विताएका थिए । २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका थिए ।
त्यस्तै २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेका थिए । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।  निरङकुश राजतन्त्रको विरुद्ध २०६२\६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्