काठमाडौं । भारतले सीमा नाका खुला गरेपनि इन्डियन आयल कर्पोरेशन (आईओसी)ले ग्याँस लोडिङ भने रोकेको छ । अघिपछिका तुलनामा आईओसीले विहीबार र शुक्रबार ग्याँस लोडिङ नै नदिएको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘भारतले रक्सौल नाका खला गर्यो तर ग्याँस लोडिङ रोक्यो,’ उनले भने ।
आईओसीले लोडिङ नवढाएसम्म सीमा नाका खुला गरेर कुनै अर्थ नलाग्ने उनले जानकारी दिए । ‘विभिन्न रिफाइनरीबाट दैनिक ५० भन्दा बढी बुलेट लोडिङ हुँदै आएकोमा हाल ८/१० बुलेट मात्र लोडिङ दिइरहेको छ,’ उनले भने, ‘सो मात्रामा लोडिङ गरेर कुनै अर्थ लाग्दैन ।’
हाल व्यवसायीले ग्याँस आयातका लागि ८ हजार बुलेटभन्दा बढीको प्रोडक्ट डेलीभरी अर्डर (पीडीओ) काटिसकेका छन् । नेपाल आयाल निगममार्फत व्यवसायीले महिनौदेखि पीडीओ काटेपनि आईओसीले लोडिङ नदिएको घिमिरेले जानकारी दिए । ‘ग्याँसको पीडीओको लागि मात्र उद्योगीले एनओसीमार्फत १० अर्ब रुपैयाँभन्दा बढी रकम आईओसीलाई बुझाएका छन्,’ उनले भने, ‘६ महिना भन्दा बढी समयदेखि व्यवसायीको उक्त रकम होल्ड भएर बसेको छ ।’
आईओसीले नेपालमा बरौनी, हल्दिया, मथुरा र कर्नाल रिफाइनरीबाट ग्याँस लोडिङ दिँदै आएको छ । जसमध्ये नेपाल भित्र्ने ६५ प्रतिशतभन्दा बढी ग्याँस रक्सौल नाका हुँदै आउछ । हाल विभिन्न ६ वटा नाकाबाट नेपालमा ग्याँस भित्रने गरेको छ ।
नेपाल आयल निगमले भने भर्खरैमात्र रक्सौल नाका खुलेकाले पेट्रोल तथा ग्याँस सहज रुपमा लोडिङ भएर आउन केही समय लाग्ने बताएको छ । ‘शुक्रबार मात्रै रक्सौल नाका खुलेको र यस अघि रिरुट गरिएका बुलेटको पनि पुनः कागजात बनाउन पर्ने भएकाले अझै केही समय लाग्छ,’ उनले भने । साथै, रक्सौल नाका खुलेपछि २ दिन भारतमा बन्द परेका मंगलबार पछि मात्र लोडिङ बढ्ने उनले जानकारी दिए ।