Logo

चेम्बर अफ कमर्सले बाँझो जमिन सदुपयोग गर्नेलाई सहयोग गर्ने, इजरायली प्रविधि भित्र्याउन छलफल

चेम्बर अफ कमर्सले बाँझो जमिन सदुपयोग गर्नेलाई सहयोग गर्ने, इजरायली प्रविधि भित्र्याउन छलफल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोग मार्फत कृृषि उत्पादन वृद्धि गर्ने अभियान शुरु गर्न लागेको हो ।

यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसंग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बाँझो राखेर अहिले पनि वार्षिक २ खर्व भन्दा बढीको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले आवश्यक सवै समन्वय गर्नेछ ।’

नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्वन गर्न नीतिगत व्यवस्थाका लागि सरकारसंग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ । नेपालका लागि इजरायलका राजदुत खनार गोदारसंग चेम्बरले इजरायलको कृषि उत्पादनको मोडलबारे जानकारी समेत लिएको छ । इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदुत गोदारले बताए ।

इजरायलमा १ दशमवल ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भएपनि उच्चतम प्रविधि मार्फत मुलुकमा खाद्यन्हमा आत्मर्निभर तथा निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदुत गोदारले बताए । उनले भने, ‘इजरायलमा कृषि पेशा सौखले गरिएको छैन । कृषकले यसलाई व्यवसाय बनाएका छन् । जिवनको महत्वपुर्ण हिस्सा बनाएका छन् ।’ नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ । इजरायल चेम्बर अफ कमर्स संग सहकार्य मार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्