Logo

टीआइएमा मल्टिस्टोरी पार्किङ निर्माणको काम सुचारु, ६ महिनाभित्र सञ्चलनमा ल्याइने

टीआइएमा मल्टिस्टोरी पार्किङ निर्माणको काम सुचारु, ६ महिनाभित्र सञ्चलनमा ल्याइने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माणाधिन मल्टिस्टोरी पार्किङ निर्माणको काम पूनःसुचारु भएको छ । नाकाबन्दीपछि रोकिएको पार्किङ निर्माणको काम तिव्र रुपमा अगाडी बढेको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताए । आगामी ६ महिनाभित्र सञ्चालन ल्याउने योजना अनुसार पार्किङ निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

विमानस्थलमा जनवरी देखि मल्टिस्टोरी पार्किङ शुरु गर्ने भनिए पनि नाकाबन्दीले काम रोकिएपछि काम पुरा हुन सकेको थिएन ।

अहिले पार्किङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पार्किङ विमानस्थल छिर्ने गोल्डेन गेटको साइडमा रहेको खाली ठाँउमा निर्माणाधिन अवस्थामा रहेको छ ।

विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागेको हो । अराइभलबाट सिधै कार पार्किङमा जान मिल्ने भएकोले विमानस्थलको अगाडी हुने भिडभाड कम तथा व्यवस्थित गर्न सकिने उपाध्यायले बताए । ‘अराइभलवाट यात्रु सिधै लिफ्टमार्फत कार पार्किङमा जान सक्नेछन,’ उनले भने । सो पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने उनले जानकारी दिए । सो पार्किङ बनाउने जिम्मा रसुवा केडी भेन्चरले लिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुरुप ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ । तर, कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र रोयलटी भने विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ । मल्टिस्टोरी पार्किङ दुई तलाको हुने छ ।

त्यस्तै पार्किङको वरिपरी रेष्टुरेन्ट पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने बताइएको छ । ती रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने महाप्रवन्धक उपाध्यायको दावी छ । त्यस्तै, सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ । जसले गर्दा विदेशबाट आएकाहरुले त्यहाँ किनमेल गरेर सिधै घर जान सक्छन् ।

प्रतिक्रिया दिनुहोस्