Logo

भुकम्प र नाकाबन्दी पछि मेला र एक्स्पो बढ्यो, भृकुटीमण्डप १ वर्षलाई बुकिङ

भुकम्प र नाकाबन्दी पछि मेला र एक्स्पो बढ्यो, भृकुटीमण्डप १ वर्षलाई बुकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प तथा नाकाबन्दीले झण्डै ८ महिना सूस्ताएको व्यापार व्यवसाय विस्तारै तंग्रिन थालेको छ । नाकाबन्दी केही खुकुलो भएसँगै विभिन्न क्षेत्रका व्यवसायीहरु आफ्नो उत्पादन प्रवद्र्धनका लागि मेला तथा प्रदर्शनी आयोजना गर्न थालेका छन् । यससँगै भृकुटीमण्डपको प्रदर्शनी स्थलको व्यवस्थता पनि बढेको छ ।

विभिन्न खालका मेला तथा प्रदर्शनीका लागि भृकुटीमण्डपको प्रदर्शनी स्थल आगामी एक बर्षका लागि बुकिङ भइसकेको भृकुटीमण्डप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

प्रदर्शनी स्थल २०७३ को फागुनसम्मका लागि बुकिङ भएको कार्यालयका सहायक रामप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार २०७३ सालको फागुन २१ गतेसम्मका लागि भृकुटीमण्डपको प्रदर्शनी हल तथा मैदानहरु बुक भएको छ । भुकम्प तथा नाकाबन्दीले गर्दा पहिला बुकिङ गरिएका एक्स्पोहरु पछि सरेकोले पनि अहिले व्यवस्थता बढेको कार्यालयले जानकारी दिएको छ ।
हाल भृकुटीमण्डपको प्रदर्शनी क्षेत्रमा हाल क्यान इन्फोटेक चलिरहेको छ । आगामी चैतसम्म प्रदर्शनी हल प्याक रहेको बताइएको छ । त्यसपछि भने बीच बीचमा खाली हुने छ । केही समय अघि मात्र झण्डै २ महिना सम्म छाला जुत्ता प्रदर्शनी र चेम्बर एक्स्पो चलेको थियो ।

कार्यलयका अनुसार आगामी बर्षको फागुनमा न्यू फेसन एक्स्पो आयोजना गरिने भएको छ । त्यसैगरी, माघ देखि फागुन ३ गतेसम्मका लागि प्यारागन फुटवेयरले जुत्ता मेला आयोजना गर्दैछ । नेपाल चेम्वर अफ कमर्सले असोज ११ गतेसम्म मेला आयोजना गर्न बुकिङ गरिसकेको उनले जानकारी दिए ।

त्यस्तै भदौ १६ देखि असोज १८ सम्म हाउस अफ राज कर्णिकारले मेला आयोजना गर्ने भएको छ ।
पछिल्लो समय विभिन्न व्यवसायी तथा उद्यमीहरु आफ्नो उत्पादन प्रवद्र्धनका लागि मेला आयोजना गर्न आकर्षित भएसँगै प्रदर्शनी स्थल प्याक भएको हो । कार्यलयले भृकुटीमण्डपको गेटबाट छिर्ने वित्तिकैको दायाँ पटिको खाली ठाउँको भाडा प्रतिदिन ८ हजार लिदै आएको छ । सो स्थान खास पार्किङका लागि तयार गरिएको हो ।

त्यस्तै अगाडीको ठूलो मैदान र बगैचाको भाडा ६० हजार तोकिएको छ । कार्यलयले सो बगैचा प्रवेशका लागि अन्य समयमा प्रतिव्यक्ति ४० रुपैयाँ शुल्क लिँदै आएको छ । त्यसैगरी हल तथा हलसहितको बाहिरको भागको दैनिक भाडा १ लाख ५० हजार रुपैयाँ लिने गरेको ढकालले जानकारी दिए । भाडा वापत उठेको रकम समाज कल्याण परिषदको खातामा जम्मा हुने बताइएको छ ।
पछिल्लो समय जिल्ला स्थित उद्योग वाणिज्य संघले पनि मेला आयोजनालाई प्राथमिकता दिन थालेका छन् ।

हाल चितवनमा रत्ननगर महोत्सव भइरहेको छ भने अन्य जिल्ला उद्योग वाणिज्य संघले पनि मेला आयोजनाको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL