Logo

चुनावी मिति घोषणाले पनि देखिएन सेयर बजारमा रौनकता, कारोबार सवा ६ अर्ब पुगेपनि नेप्सेमा १६ अंकको गिरावट

चुनावी मिति घोषणाले पनि देखिएन सेयर बजारमा रौनकता, कारोबार सवा ६ अर्ब पुगेपनि नेप्सेमा १६ अंकको गिरावट



काठमाडौं । सरकारले चुनावी मिति घोषणा गरेसँगै सेयर बजारमा उच्च अंकको वृद्धि हुने आशामा बसेका लगानीकर्ताहरु अन्तत निराश बन्न पुगेका छन् । सोमबार सरकारले आगामी बैंशाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति तय गरेसँगै लगानीकर्ताले मंगलबार बजार बढेर सर्किट हान्ने आंकलन गरेका थिए ।

सोहीअनुरुप प्रि ओपनिङमा नेप्से परिसुचक २५.७० अंकले बढेको थियो भने कारोबार खुलेको केही समयमै ७० अंकभन्दा बढीको वृद्धि भएको थियो । तर, छोटो समयमा भएको उक्त वृद्धि लामो समय टिक्न सकेन । ‘अहिले सामाजिक संजालनमा लगानीकर्ताको मनस्थिती बुझ्दा चुनावी मिति घोषणा भएसँगै बजारमा पैसा आउने र त्यसले सेयर बजार बढाउँछ भन्ने छ,’ एक ठूला लगानीकर्ताले भने, ‘चुनावका कारण बजारका केही पैसा त आउँला तर छरिएर आउँछ, तसर्थ त्यसरी आएको पैसा दैनिक उपभोग्य बस्तु खरिदमै जान्छ भने त्यसले आयात मात्र बढाउँछ ।’

अहिले बजारमा कर्जाको उच्च ब्याजदर रहेको र सोही व्याजदरमा पनि लगानीकर्ताले ऋण पाउने अवस्था नरहेका कारण चुनावी मिति तोकिँदा पनि सेयर बजारमा सकारात्मक प्रभाव नपरेको ती लगानीकर्ताको बुझाई छ । ‘अहिले कुनै लगानीकर्ता सेयर कर्जा लिन गयो भने बैंकले ढोकाबाटै फर्काउने अवस्था छ,’ उनले भने, ‘जबसम्म बैंकले सहज रुपमा कर्जा दिन थालेर ठूलो पोर्टफोलियो भएका लगानीकर्ताहरुले लगानी बढाउँदैन्न् तबसम्म बजारमा ठूलो सुधारको संकेत देखिँदैन ।’

अहिले बजारमा लगानीकर्ताहरु आफुसँग भएको सेयर होल्ड गर्नुभन्दा पनि केही अंकले बढ्यो बिक्रीमा ल्याईहाल्ने अवस्थामा पुगेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सोहीअनुरुप मंगलबार प्रिओपनिङ र त्यसपछिको केही समय उच्च अंकले उकालो लाग्दा बजारमा माग उच्च थियो भने बिक्री चाप न्यून थियो । तर उच्च अंकले बढेको बजारमा मागको तुलनामा बिक्री चाप उच्च आएसँगै नेप्से परिसुचकले पुनः ओरालो यात्रा तय गरेको थियो ।

सोहीअनुरुप मंगलबार नेप्से परिसुचक १६ अंकले घट्न पुग्यो भने अघिकांश उपसमुहहरुमा गिरावट आएको छ । बजारमा लगानी, जलविद्युत र विकास बैंक उपसुमहका सबैभन्दा बढी गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ०.३६ प्रतिशतले गिरावट आएको छ ।

मंगलबार नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने केही सुधार भएको छ । दिनभर कुल ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २३० कम्पनीको १ करोड २० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL