Logo

मौद्रिक नीतिका लागि चेम्बरको सात बुँदे सुझाव, एकल अंकको ब्याजदर

मौद्रिक नीतिका लागि चेम्बरको सात बुँदे सुझाव, एकल अंकको ब्याजदर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम गरेर लगानी योग्य वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । ब्याजदर अस्वभाविक र अनियन्त्रित ढंगले बढ्दा नयाँ लगानी तथा ऋण लिएर उद्योग व्यवसाय गरेकालाई निकै समस्या भएको भन्दै यस्तो व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको हो । पछिल्लो समय तरलताको समस्या देखाएर ब्याजदर वृद्धि भईरहेका बेला चेम्बर अफ कमर्सले नियामक निकाय राष्ट्र बैंङकको ध्यानाकर्षण गराएको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा अघि राष्ट्र बैंकलाई ७ बुँदे सुझाव दिने क्रममा चेम्बरले एकल ब्याजदर कायम गर्र्नुपर्ने बताएको हो । आगामी दिनमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदरको व्यवस्था गर्न ढिलाई गर्न नहुने चेम्बरको माग छ । गर्भनर महाप्रसाद अधिकारीलाई भर्चुअल रुपमा सुझाव दिने क्रममा यसअघी अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल ब्याजदर कायम गरिनुपर्ने बताए ।

बैंकहरुले आधार दरमै गरेको वृद्धि घटाउने पहल गर्न पनि चेम्बरले राष्ट्र बैंकसँग आग्रह गरेको छ । कोभिडको महामारीले प्रभावित अर्थतन्त्रको पुनर्उत्थानका लागि बैंकहरुले आधारदरमा एक्कासी गरेको ३ देखि ४ प्रतिशतको वृद्धिले व्यवसायीहरुलाई समस्यामा पारेको चेम्बरको ठहर छ ।

रेमिट्यान्सको घट्दो आप्रवाहसँगै उपभोग र अनौपचारिक अर्थतन्त्रमा बढी खर्च भईरहेको सन्र्दभमा उक्त रकमलाई बैंकिङ च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न पूर्वाधार विकास र जलविद्युत विकास एवं कुल गार्हस्थ उत्पादन जीडीपीमा टेवा पुग्ने क्षेत्रमा कम्तिमा ५ देखि १० प्रतिशत लगानी गर्ने वतावरण वनाउन आवश्यक रहेकोसमेत चेम्बरले जोड दिएको छ ।

रेमिट्यान्समा १ प्रतिशत ब्याज थप गर्ने राष्ट्रबैंकको नीतिको चेम्बरले स्वागत पनि गरेको छ । यसले रेमिट्यान्सको आप्रवाह थप बढ्ने चेम्बरले उल्लेख गरेको छ ।

मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि आयतलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्ने नीति ल्याउन पनि चेम्बरले जोड दिएको छ । भन्सार विन्दुहरुमा कारोवार मुल्यलाई मान्यता दिनु अत्यन्तै आवश्यक रहेको चेम्बरले राष्ट्र बैंकलाई वुझाएको सात बुँदे सुझावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्