Logo

इन्जेक्सन र अत्यावश्यक औषधि उत्पादन गर्दै देउराली जनता, ६० करोड लगानी थपिने

इन्जेक्सन र अत्यावश्यक औषधि उत्पादन गर्दै देउराली जनता, ६० करोड लगानी थपिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले इन्जेक्सनलगायत इमर्जेन्सी औषधि उत्पादन गर्ने भएको छ । कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा नयाँ औषधि उत्पादन गर्न लागेको कम्नपीका प्रवन्ध निर्देशक हरिभक्त शर्माले बताए ।

नयाँ प्रडक्ट उत्पादनका लागि थप ६० करोड रुपैयाँ लगानी गरिने समेत उनले जानकारी दिए । ‘देउराली जनताले ‘दिब्यम’ र इमर्जेन्सी सेवाका लागि औषधि उत्पादन गर्दै छ,’ उनले भने, ‘रजत जयन्तीको अवसरमा उक्त उत्पादन बजारमा ल्याउने छौं ।’

कम्पनीले पाचन प्रणालीको लागि आवश्यक औषधि ‘दिब्यम’ उत्पादनका लागि सम्पूर्ण पूर्वाधार तयार गरिसेको छ । जसका लागि १० करोड रुपैयाँ लगानी हुनेछ भने ४५ जनाभन्दा बढी सो क्षेत्रका दक्ष कर्मचारीले रोजगारी पाउने शर्माले जानकारी दिए ।

यसैगरी इन्जेक्सन र इमर्जेन्सी सेवाका लागि आवश्यक औषधि उत्पादनका लागि भने ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । सोको लागि छुट्टै युनिट खडा गरेर उत्पादन शुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

देउराली जनताले अहिले पनि नेपाली बजारमा कुल खपत हुने औषधिको ५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिँदै आगामी दिनमा यसको दायरा फराकिलो बनाउन लागेको समेत उनले बताए । ‘नेपाली औषधि कम्पनीहरुले नेपालका लागि आवश्यक औषधि स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता बनाइसकेका छन्,’ उनले भने, ‘तर, सरकारले यसलाई प्रवद्र्धन गर्नका लागि कुनै कदम चाल्न सकेन ।’ सरकारले औषधि उत्पादनका लागि जथाभावी लाइसेन्स दिएको भन्दै आगामी दिनमा यसलाई न्युनिकरण र अनुगमन गरिनुपर्ने उनले बताए ।

हाल कम्पनीले विभिन्न ५ डिभिजन मार्फत ३ सय प्रकारका औषधि उत्पादन गर्दै आएको छ । भारतीय नाकाबन्दीका कारण भएको इन्धन अभाव र बढ्दो लोडसेडिङका कारण उत्पादनमा गिरावट आएको समेत उनले जानकारी दिए । ‘अहिले उत्पादनका ५० प्रतिशतले गिरावट आएको छ भने बजार ३५ प्रतिशतले घटेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्