Logo

मल खरिदका लागि थप १२ अर्ब ७१ करोड विनियोजन, उखुको मूल्य निर्धारणका लागि सिफारिस

मल खरिदका लागि थप १२ अर्ब ७१ करोड विनियोजन, उखुको मूल्य निर्धारणका लागि सिफारिस



काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि १२ अर्ब ७१ करोड थप गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित रू १५ अर्बका अतिरिक्त रू १२ अर्ब ७१ करोड थप गरिएको हो ।

कृषि तथा पशुपक्षी मन्त्रालयले मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादनमा कमी आएकाले मूल्य वृद्धि भएको बताए । उनले १२ हजार ५०० मेट्रिक टन मल मौज्दात रहेको भए पनि आगामी दिनमा हुने मलको चाप धान्न सक्ने अवस्था नरहेको जानकारी दिए ।

उनले आगामी तीन महिनासम्म ७५ हजार मेट्रिक टन मल आवश्यक पर्ने देखिएको उल्लेख गरे । मन्त्री यादवले खरिदका लागि टेण्डर भइसकेको एक लाख ५० हजार मेट्रिक टन अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिले आयात हुन नसकेकाले अभाव भएको भए पनि त्यो परिमाण आउने प्रक्रियामा रहेको बताए ।

कृषि सचिव डा गोविन्दप्रसाद शर्माले मलको समस्या निराकरणका लागि मन्त्रालयबाट प्रयास भइरहेको उल्लेख गर्दै आगामी दिनमा मलको सहज व्यवस्थापन तथा आपूर्तिमा प्रदेश र स्थानीय तहसमेतलाई व्यवस्थित बनाइने जानकारी दिए । अर्का सचिव निरु दाहालले उखुको मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यही पुस १४ गते सिफारिस गरी पठाइएको बताइन ।

प्रतिक्रिया दिनुहोस्