संस्था र व्यवसायी दुवैलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने योजना अनुरुप पुनः उम्मेदवारी दिएको हुँ ।
गलतकामगर्ने व्यक्तिलाई सोर्सफोर्समा छुकारा दिँदा समस्या भएको हो । सरकारले प्रत्येक वर्ष विभिन्न क्षेत्रका व्यवसायीलाई सम्मान गर्छ तर राज्यलाई कर वापत वार्षिक ७० अर्ब रुपैयाँ बुझाउने व्यवसायीलाई कुनै वास्ता गर्देन । मदिरा व्यवसायका वर्तमान समस्या, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा केन्द्रित रहेर नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठसँग गरिएको कुराकानीको सार :
भुकम्प र नाकाबन्दी पछि मदिराको व्यवसाय कस्तो छ ?
भुकम्प पछि घरपालुवा रक्सीको उत्पादन घट्यो जसले गर्दा ५० र ७० यूपीका सस्ता रक्सीको व्यापार बढेको थियो । तर, तराइ आन्दोलन र भारतीय नाकान्दीले मदिराको उत्पदान नै नभएकाले व्यापार एकदमै घटेको छ । विशेष गरी मदिरा उद्योग तराइ क्षेत्रमा बढी छन् । कच्चा पदार्थको अभाव र उद्योग कलकारखाना चल्न नसक्दा मदिरा व्यवसाय ५० प्रतिशतभन्दा बढीले घटेको छ ।
मापसे (मादक पदार्थ सेवन)को मात्र तोक्ने व्यवस्था गर्न महासंघले पहल गरेको थियो । के भइरहेको छ ?
यस विषयमा महासंघले प्रशासनसँग पटक–पटक छलफल गरिसकेको छ । विभिन्न देशमा मदिरा सेवनको मात्रा तोकिन्छ तर नेपाल सरकार भने यस विषयमा मौन छ । सरकार नराम्रो कुराको नक्कल गर्न सक्छ तर राम्रो विषयमा वास्ता गर्दैन । अहिले ट्राफिक प्रहरीले हचुवाको भरमा मापासे जाँच गर्दै आएको छ । मापासेको नाममा युवाहरुलाई बढी दुख दिइरहेको छ । यदि अनावश्यक रुपमा मापासेलाई कडाई गर्ने हो भने युवाहरु ड्रग सेवन तर्फ लाग्ने खतरा बढी छ । यसले भविश्यमा झन् ठूलो समस्या निम्त्याउने छ । जतिसक्दो चाडो मापासेको सीमा तोकेर खुला गरिनुपर्छ ।
व्यवसायीहरुले नक्कली मदिरा विक्री वितरण गरे भन्ने आरोप छ नि ?
यो सरासर गलत छ । एउटाले नराम्रो काम गर्यो भने सवैलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन । कुनै गैर व्यवसायीले नक्कली मदिरा बिक्री गर्ने काम गरे होलान तर वास्तविक व्यवसायीले कुनै पनि हालतमा त्यस्तो काम गरेका छैनन् ।
नक्कली स्टिकर टासेर कर छल्नेमा तँपाइहरु (व्यवसायी)को पनि ठूलो भूमिका हुन्छ भनिन्छ नि ?
यो हामीभन्दा पनि उत्पादहरुलाई थाहा हुने विषय हो । नक्कली स्टिरमा हाम्रो कुनै संलग्नता रहँदैन । हामीकहाँ आइपुग्दा उद्योगबाटै स्टिकर लागेर आएको हुन्छ । तसर्थ यो हाम्रो तहभन्दा माथिको विषय हो ।
खासगरी आयातित ब्राण्डका महङगा ह्विस्कीमा व्यवसायीले मिसावाट गरेर बेच्छन् भन्ने आरोप छ बजारमा । यस विषयमा के भन्नु हुन्छ ?
खुला बोर्डरका कारण मिसावट भइरहेको छ । तर अहिले यो एकदमै कम छ । व्यवसायीका नाममा गलत काम गर्ने व्यक्तिले यस्तो गरिरहेका छन् । सरकारले कडा कानुन ल्याउन नसक्दा पनि यसले प्रशय पाएको देखिन्छ । उदाहरणका लागि आजभन्दा ४ वर्ष अघि नक्कली रक्सी उत्पादन तथा वितरण गर्ने व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रहरीले विना कारावाही सोर्सफोर्सको भरमा १५ दिन पछि त्यतिकै छाडिदियो । वास्तविक व्यवसायीबाट मिसावट गर्ने काम हुँदैन किनकि उ वर्षौसम्म यही व्यवसायमा रहनु पर्छ । तर, छोटो समयमा लगत काम गर्ने नियत भएका व्यक्तिले यस्ता काम गर्दै आएका छन् । यसलाई रोक्न सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्छ ।
यस व्यवसायका समस्याहरु केके हुन् ?
दुख लाग्दो कुरा राज्यले हामीलाई व्यवसायीको नजरबाट हेरेन । यो व्यवसायबाट राज्यको ढुकुटीमा वार्षिक ७० अर्व रुपैयाँभन्दा बढी राजस्व जान्छ त्यो हाम्रै कारणले भएको हो । सरकारले प्रत्येक वर्ष विभिन्न क्षेत्रका व्यवसायीलाई सम्मान गर्छ तर राज्यलाई कर वापत ठूलो रकम बुझाउने व्यवसायीलाई कुनै वास्ता गरेन । भुकम्पबाट व्यवसायीको करोडौ रुपैयाँको रक्सी नोक्सान भएको छ । तर राज्यले टुटफुट भएका रक्सीमा लागेको अन्तशुल्क समेत फिर्ता गरेन । यस्तै व्यवसायीले मदिराको इन्स्योरेन्स गराएका हुन्छन् । तर, इन्स्योरेन्स कम्पनीले भने सो वापतको रकम दिएको छैन । व्यवसायीमा ‘मिसम्याच’को समस्या पनि त्यस्तै छ । सरकारले अन्य व्यवसायीलाई मिसम्याचको १ दशमवल ५ प्रतिशत रकम तिरेर पुग्ने व्यवस्था गर्यो तर हामीलाई ३ प्रतिशत कर लाएको छ । के यो व्यवसाय गर्ने चाहिँ अरु देशको नागरिक हुन् ?
तपाइ पुनः अध्यक्ष पदमा दोहोर्याउन लागिरहनु भएको छ । सामाजिक संस्थामा किन दाहोर्याउन चाहेको ?
सामाजिक काम गर्नकै लागि पुनः अध्यक्ष पदमा दोहोर्याउन लागेको हुँ । संघसंस्थामा वसेर व्यक्तिलाई कुनै फाइदा हुँदैन । व्यवसायीक हकहितको लागि काम गर्ने हो । म अध्यक्ष भइरहदा महासंघको संगठन ४ जिल्लामा मात्र फैलिएको थियो । तर, अहिले २३ जिल्लामा पुर्याएको छु । डुब्लीकेट स्टिकर र मिसम्याचमा परेका धेरै व्यवसायीलाई राज्यसँग लविङ गरेर उन्मुक्ति दिलाए । यो कार्याकालमा महासंघ र व्यवसायीक हकहितका लागि थुप्रै काम गरे । अझै केही गर्न बाँकी भएकाले पुनः उठ्न लागेको हुँ ।
आगामी कार्यकालका लागि के–कस्ता योजना ल्याउनु भएको छ ?
मुख्य कुरा संस्था र व्यवसायी दुवैलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने हो । यो वर्ष महासंघको आफ्नै भवन बनाउने योजना बनाएको छु भने जिल्ला स्तरका संघलाई पनि आर्थिक रुपमा सवल बनाउन फण्डको व्यवस्था गरेको छु । यस कार्याकालमा भ्याटको थ्रेसहोल्ड बढाउन मुल्य भुमिका खेले र २० लाखबाट ५० लाख पुर्यायौं । आगामी दिनमा १ करोड रुपैयाँ पुर्याउनुपर्छ भनेर लविङ गर्दै आएको छु र गर्नेपनि छु । महासंघले सामाजिक उत्तरदायित्व अन्तरगत पनि धेरै काम गरेको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।