काठमाडौं । सेयर बजारले पुस मसान्त सकिएको पहिलो दिन आइतबार भएको कारोबारमा अहिलेसम्मको रेकर्ड तोडेको छ । आइतबार बजार कारोबारको अन्त्यसम्ममा १ हजार २ सय १२ अंकको उचाईमा पुगेको छ ।
यसअघि गत भदौ २९ गते सेयरको कारोबारमापक परिसूचक नेप्सेले रेकर्ड तोड्दै नयाँ उचाई कायम गरेको थियो । त्यसबेला नेप्से १ हजार २ सय ५ दशमलव ८४ अंक कायम भएको थियो ।
बजारमा डिम्याट सेयरको मात्र कारोबार भैरहेको र जलविद्युत लगानी तथा विकास कम्पनीमा गरिएको ४३ अर्ब रुपैयाँमध्ये ४१ अर्ब रुपैयाँ जति रकम फिर्ता हुन लागेकोेले पनि बजार माथि जान हौसला मिलेको छ । चुक्ता पुँजी थप्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर जारी गर्न साधारण सभाबाट पास गरेकोले लगानीकर्तालाई उत्साह भएको छ ।
पुस मसान्तमा बैंक तथा वित्त कम्पनीहरुको स्थिति के रहेको छ भन्ने एकिन भएको छैन । केन्द्रीय बैंकले चैतसम्मलाई किस्ता र ब्याज तिर्ने समय बढाएकोले पनि पुसको ब्यालेन्स सीट नराम्रो देखिदैन । तर ब्यालेन्स सीटमा ब्याज नउठेको इन्टे«स्ट सस्पेण्ड बस्ने चाहि पक्कै छ । तैपनि नेप्से बढ्नुमा बैंक वित्तीय संस्थाकै भूमिका बढी रहेको छ ।
आइतबार कुल ४६ करोड रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता सेयरको खरिद विक्री भएको छ । बजार २४ दशमलव ५६ अंकले बढ्दै नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सबैभन्दा बढी बीमा समूहको १ सय २७ दशमलव ९८ अंकले बढेको छ भने दोस्रोमा बैक वित्तीय संस्थाको परिसूचक रहेको छ । बजारमा बढी प्रभाव पार्ने यो परिसूचक २१ दशमलव ८४ अंकले बढेको छ ।