Logo

सिंगापुरको ‘साउथ इष्ट एशिया’ लाई टेलिकम्युनिकेशनमा लगानी गर्न स्वीकृति

सिंगापुरको ‘साउथ इष्ट एशिया’ लाई टेलिकम्युनिकेशनमा लगानी गर्न स्वीकृति


रक्षा रेग्मी
0
Shares

काठमाडौं । उद्योग विभागले सिंगापुरको साउथ इष्ट एसिया टेलिकम ग्रुप लिमिटेडलाई दर्ताको स्वीकृति दिएको छ । बुधवार उद्योग विभागको वैदेशिक लगानी शाखाका निर्देशक विपिन राजभण्डारीको संयोजकत्वमा बसेको वैठकले दर्ता स्वीकृति दिने निर्णय गरेको हो ।

सो कम्पनीले करीव ३ महिना अघि नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ उद्योग विभागमा दर्ताको प्रस्ताव पेस गरेको थियो । कम्पनीले आफ्नो प्रोफाइल तथा अन्य विवरण पेसगरेपछि विभागले स्वीकृति दिने निर्णय गरेको हो । उद्योग विभागले करीव २ हप्ता अघि कम्पनीलाई आफ्नो प्रोफाइल पेस गर्न निर्देशन दिएको थियो । अब कम्पनी रजिष्टारमा दर्ता गरेपछि लाइसेन्सको प्रक्रिया अगाडी बढाउन सक्नेछ ।

कम्पनीले नेपालमा इन्टरनेट, टुजी, थ्रीजी तथा फोर जी सेवा सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाएको हो ।

नयाँ कम्पनी दर्ताका लागि नेपाल दुरसञ्चार प्राधिकरणले समेत सहमती दिइसकेको छ । प्राधिकरणले पनि सेवा संचालनका लागि लाइसेन्स दिने गरी विभागलाई दर्ताको सहमति दिएको हो । प्राधिकरणले ऐन नियम बमोजिम कम्पनी दर्ता तथा सञ्चालन गर्ने गरी सहमती दिएको थियो ।

प्राधिकरणका अनुसार कम्पनी दर्ता पछि टेलिकम्युनिकेशन सेवा सञ्चालनका लागि प्राधिकरणबाट लाइसेन्स लिनुपर्छ । नेपालमा इन्टरनेट सेवाका लागि बाहेक टुजी, थ्रीजी तथा फोरजी सेवाका लागि भने विडिङ प्रक्रियामा जानुपर्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । साउथ इष्ट एसियाले नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा तत्कालका लागि ६० करोड नेपाली रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीले स्थानीय साझेदारमा सोहनलाल श्रेष्ठलाई चयन गरेको छ । सो कम्पनीमा उनको २० प्रतिशत लगानी हुने छ । साउथ इष्ट एसिया टेलिकम्युनिकेशन गू्रप लिमिटेड २०१४ मा स्थापना भएको कम्पनी हो । सो कम्पनीले मोवाइल टेलिकम तथा आइएसपी क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्