Logo

एनटीएले माघ १५ भित्रै रेडिएशन मापन यन्त्र ल्याउने

एनटीएले माघ १५ भित्रै रेडिएशन मापन यन्त्र ल्याउने


रक्षा रेग्मी
0
Shares

काठमाडौं ।  नेपाल दूरसञ्चार  प्राधिकरण(एनटीए)ले रेडिएसन मापन यन्त्र खरीद गर्ने भएको छ । एनटीएले सो यन्त्रको खरीद प्रक्रिया शुरु गरिसकेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘उपकरण खरीदका लागि सप्लायर्स छनोट भइसकेको छ,’ उनले भने ‘जनवरीको अन्तिमसम्मा ल्याउने तयारीमा छौं ।’

अर्यालका अनुसार उपकरणको थर्ड पार्टी टेष्टिङ आगामी १४ तारिकमा गरिने भएको छ । एनटीएले रेडिएसन मापन गर्ने उपकरण जर्मनीबाट आयात गर्न लागेको हो ।

सो उपकरणको मूल्य ७० लाख रुपैयाँ पर्ने बताइएको छ । रेडियो तरंगले दैनिक जीवनमा हानी गरेको गुनासो बढ्न थालेपछि सो उपकरण ल्याउन लागिएको हो । अर्यालका अनुसार शुरुमा उक्त उपकरण मार्फत बढी गुनासो आएका क्षेत्रमा रेडियो टावरको नमुना परीक्षण गरिने भएको छ ।

साथै, त्यसपछि गुनासो आइरहेका क्षेत्रमा क्रस चेक गर्न प्रयोग गरिने भएको छ । उपकरणबाट जाँच गर्दा खराब देखिएमा टेलिकम सेवा प्रदायकलाई सो टावर विस्थापित गरी मापदण्ड अनुसारको जडान गर्न निर्देशन दिने बताइएको छ । उपकरणले दैनिक जीवनमा तरंगले हानी गरे\नगरेको पत्ता लागाउने छ । यो इन्टरनेशनल कमिसन अन नन आयोनाइजिङ रेडिएशन प्रोटेक्सन ( आईसीएनआईआरपी)ले तयार गरेको मापदण्ड हो । दूरसञ्चारको विश्वव्यापी नियामकका रुपमा रहेको अन्तरराष्ट्रिय दूरसञ्चार प्राधिकरण (आईटीयू)ले सो मापदण्डलाई रेडिएशन मापनको आधार मानेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि यस मापदण्डलाई अंगिकार गरिसकेको छ । दुरसञ्चार प्राधिकरणले हालसम्म सोही मापदण्डलाई आधार बनाएर नियमन गर्दै आएको छ । नेपालमा केही समय अघि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यस्तो उपकरण ल्याएर रेडिएशनको परीक्षण गरेको थियो । उसले सो उपकरण लिजमा लिएर परिक्षण गरेको थियो । दूरसञ्चार प्राधिकरणले शुरुमा एउटा ल्याए पनि त्यसको माग बढेमा विस्तारै अरु पनि आयात गरिने बताइएको छ ।

हाल देशभर करिव ६ हजार रेडियो टावर छन् । प्राधिकरणले ती टावरहरुको जोखिमबारे नियमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्