Logo

चन्द्रागिरीमा चीनियाँ लगानीका १० वटा होटल खुल्दै

चन्द्रागिरीमा चीनियाँ लगानीका १० वटा होटल खुल्दै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चन्द्रागिरीमा केबलकार सञ्चालनमा आउने भएसँगै उक्त स्थानमा व्यवसाय गर्ने होडबाजी चलेको छ । चन्द्रागिरीमा विशेषगरी होटल तथा रेष्टुरेन्ट खोल्न  विदेशी लगानीकर्ताले चासो देखाएका छन् । हाल केबुलकारको आसपास क्षेत्रमा उक्त होटल तथा रेष्टुराँ खोल्नका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हाल चन्द्रागिरीमा चीनीयाँ व्यवसायीले होटल तथा रेष्टुराँ संचालका लागि चासो देखाएको छन् । बैशाखदेखि हालसम्म चन्द्रागिरीमा होटल संचालनका लागि १० ओटा उद्योग दर्ता भइरहेका छन् । जसमध्ये ९ ओटामा चिनीयाँ लगानीकर्ताको रहेको छ भने एउटा अमेरिकी लगानीकर्ताको रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो स्थानमा विदेशी लगानीकर्ताले ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको होटल तथा रेष्टुराँ खोल्ने भएका छन् ।

विभागका अनुसार उक्त स्थानमा होटल तथा रेष्टुराँ सञ्चालनका लागि हालसम्म झण्डै ३० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको देखिन्छ । ती होटल तथा रेष्टुराँबाट ३ सय जनाभन्दा बढीले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित चन्द्रागिरीमा केबलकार सञ्चालन गर्न  लागिएसँगै अन्य व्यवसाय संचालन गर्ने क्रम पनि बढेको हो । केबलकार सञ्चालनमा आए पश्चात व्यसायको वातावरण बन्ने आशाका साथ लगानी गर्नेको होडबाजी चलेको हो । चन्द्रागिरीका होटल रेष्टुरँसँगै रक क्लाइम्बिङलगायतका व्यवसाय पनि सञ्चालन गर्न लागिएको छ ।

त्यसैगरी, मासु प्रशोधन उद्योग, कृषि फारमलगायत स्थापनाका लागि पनि विभागमा दर्ता प्रस्ताव आएको छ । चन्द्रागिरी डाडाँमा १ सय बेडको तारे सुविधासहितको रिसोर्ट तथा व्राण्डेड सपिङ मल पनि सञ्चालन गरिने भएको छ । उक्त होटल तथा रेष्टुराँ विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गर्न लागिएको हो ।
हाल चन्द्रागिरीमा निर्माणाधिन केबलकारको झण्डै ९० प्रतिशत काम सकिएको सम्बद्ध निर्माण कम्पनीले जानकारी दिएको छ । आगामी ४÷५ महिना भित्रै सो स्थानमा केवलकार संचालनमा आउने समेत कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्