Logo

टेलिकम्युनिकेशनमा अर्को विदेशी कम्पनी, लगानी भित्र्याउँदै सिंगापुरको ‘साउथ इष्ट एसिया’

टेलिकम्युनिकेशनमा अर्को विदेशी कम्पनी, लगानी भित्र्याउँदै सिंगापुरको ‘साउथ इष्ट एसिया’


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपालको टेलि कम्युनिकेशन क्षेत्रमा वैदेशिक लगानीको नयाँ कम्पनी खुल्ने भएको छ । टेलि कम्युनिकेशन क्षेत्रमा नेपाल टेलिकम र एनसेलको दवदवा भइरहेको बेला विदेशी लगानीको नयाँ कम्पनी आउन लागेको हो ।

सिंगापुरको साउथ इष्ट एसिया टेलिकम ग्रुप लिमिटेडले नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गर्न दर्ता प्रक्रिया अघि बढाएको उद्योग विभागका वैदेशिक लगानी शाखाका निर्देशक विपिन राजभण्डारीले जानकारी दिए । ‘कम्पनीले नेपालमा इन्टरनेट, टुजी, थ्रीजी तथा फोर जी सेवा सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाएको हो,’ उनले भने । भण्डारीका अनुसार नयाँ कम्पनी दर्ताका लागि नेपाल दुरसञ्चार प्राधिकरणले समेत सहमती दिइसकेको छ । केही समय अघि विभागले उक्त कम्पनी दर्ताका लागि प्राधिकरणसँग सहमति माग गरेको थियो । प्राधिकरणले हिजो मात्रै सहमती दिएको हो ।

यता प्राधिकरणले पनि सेवा संचालनका लागि लाइसेन्स दिने गरी विभागलाई दर्ताको सहमति दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘ऐन नियम बमोजिम कम्पनी दर्ता तथा सञ्चालन गर्ने गरी सहमती दिइएको हो,’ उनले भने । अर्यालका अनुसार कम्पनी दर्ता पछि टेलिकम्युनिकेशन सेवा सञ्चालनका लागि प्राधिकरणबाट लाइसेन्स लिनुपर्छ । नेपालमा इन्टरनेट सेवाका लागि बाहेक टुजी, थ्रीजी तथा फोरजी सेवाका लागि भने विडिङ प्रक्रियामा जानुपर्ने उनले जानकारी दिए ।

साउथ इष्ट एसियाले नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा तत्कालका लागि ६० करोड नेपाली रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले स्थानीय साझेदारमा सोहनलाल श्रेष्ठलाई चयन गरेको गरेको छ । सो कम्पनीमा उनको २० प्रतिशत लगानी हुने छ । उद्योग विभागले कम्पनीलाई आफ्नो प्रोफाइल पेस गर्न निर्देशन दिएको छ ।

साउथ इष्ट एसिया टेलिकम्युनिकेशन गू्रप लिमिटेड २०१४ मा स्थापना भएको टेलिकम्युनिकेशन कम्पनी हो । सो कम्पनीले मोवाइल टेलिकम तथा आइएसपी क्षेत्रमा लगानी गर्दै आएको छ ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई ‘स्वतन्त्र पूर्वाधार प्रदायक’ कम्पनी ल्याउन सैद्धान्तिक सहमति दिएपछि विदेशी कम्पनीले लगानी गर्न चासो देखाएको उद्योग विभागका महानिर्देश्क महेश्वर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय अमेरिका, जापान, सिंगापुरलगायत मुलुकका ठूला कम्पनीले नेपालको दूरसञ्चार पूर्वाधारमा लगानी गर्न इच्छा देखाएका छन् । ‘विभागका साथै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल लगानी बोर्डमा यस्ता कम्पनी दर्ता प्रक्रिायबारे बुझ्न आउने गरेको पाइएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्