Logo

वायो ग्याँस उत्पादन गर्दै अविनाश ह्याचरी, ३० करोड लागानी

वायो ग्याँस उत्पादन गर्दै अविनाश ह्याचरी, ३० करोड लागानी


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । अविनाश ह्याचरी उद्योगले वायो ग्याँस उत्पादन गर्ने भएको छ । आफ्नै फार्ममा प्लाण्ट राखेर वायो ग्याँस उत्पादन गर्न लागिएको अविनाश ह्याचरीका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले बताए । ‘देशमा बढ्दो ऊर्जा संकट भइरहेको बेला त्यसको बैकल्पिक व्यवस्थाका लागि वायो ग्याँस उत्पादन गर्न लागेका हौं,’ उनले भने, ‘केही समयभित्रै प्लाण्ट स्थापना गरी ग्याँस उत्पादन शुरु गर्ने छौं ।’

कम्पनीले चितवन र नवलपरासीमा गरी २ वटा प्लाण्ट संचालनमा ल्याउने भएको छ । उक्त स्थानमा उच्च क्षमता भएको आधुनिक प्रविधिको प्लाण्ट जोडिने छ । हाल प्लाण्ट किन्न तथा सो वारे अध्ययनका लागि यूरोप भ्रमणमा रहेको अध्यक्ष विष्टले जानकारी दिए । विशेषगरी, कम्पनीले जर्मनी र नेदरल्याण्डबाट प्लाण्ट ल्याउने तयारी गरेको छ । कम्पनीले वायो ग्याँस उत्पादनका लागि मेसिनदेखि प्रविधिसम्म यूरोपबाटै ल्याउने भएको छ ।

विष्टका अनुसार कम्पनीले एउटा प्लाण्टमा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । नवलपरासी र चितवनका २ वटा प्लाण्टमा गरी ३० करोड रुपैयाँभन्दा बढी लगानी गरिने भएको छ । ‘कस्तो प्लाण्ट राख्दा उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘आधुनिक र बढी उत्पादन क्षमता भएको प्लाण्ट भएमा सोभन्दा पनि बढी लगानी हुनसक्छ ।’

कम्पनीले ह्याचरी उद्योगबाट निष्कने मल प्रयोग गरेर वायो ग्याँस निकाल्ने भएको छ । ह्याचरी उद्योगमा वायो ग्याँसका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त भएको समेत कम्नपीले जानकारी दिएको छ । हाल अध्ययनको क्रममा रहेकाले उक्त प्लाण्टबाट कति ग्याँस निष्कन्छ भनेर अहिले नै भन्न नसकिने विष्टले बताए । तर,प्लाण्ट संचालनमा आएपछि अहिलेको ऊर्जा संकट समाधान गर्न केही राहत मिल्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL