Logo

‘लेअफ’मा कर्मचारी राख्न आवेदन दिने क्रम बढ्यो, अध्ययन गर्दै श्रम कार्यालय

‘लेअफ’मा कर्मचारी राख्न आवेदन दिने क्रम बढ्यो, अध्ययन गर्दै श्रम कार्यालय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारतीय नाकाबन्दी तथा तराइमा भइरहेको आन्दोलनले गर्दा उद्योग कलकारखाना नचलेपछि ‘लेअफ’मा कर्मचारी राख्न आवेदन दिने क्रम बढेको छ । विशेषगरी तराइ केन्द्रित उद्योगहरुले कर्मचारीलाई ‘ले अफ’मा राख्न आवेदन दिने क्रम बढेको श्रम विभागका निर्देशक बरुणकुमार झाले बताए । ‘पछिल्लो समय विरगञ्ज श्रम कार्यालयमा उद्योगी व्यवसायीहरु आवेदन दिन आउने क्रम बढेको छ,’ उनले भने, ‘हाल झण्डै २० वटा उद्योगले ‘लेअफ’मा कर्मचारी राख्नका लागि विरगञ्ज श्रम कार्यालयमा निवेदन दर्ता गराएका छन् ।’ कर्मचारीलाई ‘लेअफ’मा राख्दा सो अवधिभरको ५० प्रतिशत तलव दिनुपर्छ ।

विभागका अनुसार हाल बुटवल श्रम कार्यालयमा पनि उद्योगीहरुको आवेदन आउन थालेको छ । तर, बुटवल श्रम कार्यालयमा केही उद्योगीहरुले मात्र आवेदन दर्ता गराएका छन् ।

श्रम ऐन अनुसार विशेष कारणवस उद्योग संचालन हुन नसकेमा उद्योगीहरुले केही समयका लागि कर्मचारीलाई लेअफमा राख्न पाउने छन् । तर, सो कार्यका लागि सम्बन्धित श्रम कार्यालयबाट स्वीकृति लिनुपर्छ । उद्योगी व्यवसायीहरु लेअफमा कर्मचारी राख्नका लागि आवेदन दिन आउने क्रम बढेपनि हालसम्म स्वीकृति भने नदिइएको श्रम विभागले जानकारी दिएको छ । कर्मचारीलाई लेअफमा पठाउनु पर्ने छ वा छैन भन्ने विषयमा श्रम कार्यालयले अध्ययन गरिरहेको समेत झाले जानकारी दिए ।

लामो समयदेखि उद्योग संचालनमा नआएपछि कर्मचारीलाई लेअफमा राख्नका लागि आवेदन दिँदा श्रम कार्यालयले विभिन्न वाहनामा स्वीकृति नदिएको उद्योगीहरुको आरोप छ । ‘४ महिनादेखि उद्योग संचालन गर्न नसकेपछि केही समयका लागि कर्मचारी लेअफमा राख्न झण्डै १ महिना अघि श्रम कार्यालयमा आवेदन दिएका थियौं,’ विरगञ्जका एक उद्योगीले भने, ‘तर, हालसम्म स्वीकृति दिएको छैन ।’ श्रम कार्यालयले स्वीकृति नदिएर उद्योगीलाई श्रम कानुन अनुसार पाउने अधिकारबाट समेत वञ्चित गरिएको ती व्यवसायीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL