Logo

‘काठमाडौं टावर’को निर्माण ३ महिना भित्रै थालिने, यसरी बन्दैछ हेर्नुहोस डिजाइनसहित

‘काठमाडौं टावर’को निर्माण ३ महिना भित्रै थालिने, यसरी बन्दैछ हेर्नुहोस डिजाइनसहित


रक्षा रेग्मी
27
Shares

काठमाडौं । महानगरपालिकाले निर्माण गर्न लागेको ‘काठमाडौं टावर’को निर्माण कार्य आगामी ३ महिनाभित्रै शुरु गरिने भएको छ । हाल नक्सापासलगायत सम्पूर्ण कार्य सकिएकाले निर्माण कार्य शुरु गर्न लागिएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता तथा राजस्व शाखाका प्रमुख महेश काफ्लेले बताए ।

काफ्लेका अनुसार हाल सो स्थानमा रहेको पार्किङ अन्यत्र सार्नका लागि जग्गा खोज्ने काम भइरहेको छ । ‘टावर बन्ने स्थानमा अहिले वस पार्किङ गरिरहेका छन्,’ उनले भने, ‘वस पार्किङ अन्यत्र नसारी निर्माण कार्य शुर गर्न नमिल्ने भएकाले उपयुक्त स्थानमा जग्गा खोजिरहेका छौं ।’

बसपार्कमा टावर निर्माण शुरु गरेपछि उपत्यका बाहिर तथा भित्रका सवारीको पार्किङ रत्नपार्कमा गर्ने तयारी गरिएको छ । त्यस्तै, थानकोट रुटमा चल्ने गाडीका लागि नयाँ बसपार्क तथा तिनकुनेमा पार्किङको व्यवस्था गरिने महानगरपालिकाले जानकारी दिएको छ । ‘नयाँ बसपार्क, तिनकुने तथा रत्नपार्क पार्किङको सम्भावित स्थान हो,’ उनले भने, ‘तर, तीमध्ये कुन स्थानमा पार्किङ सार्ने भन्ने विषयमा निणर्य भइसकेको छैन ।’

kathmandu-tower -2

 

अस्थायी स्थानान्तरणका गर्न भने विभिन्न यातायात व्यवसायीसँग छलफल भइरहेको उनले जानकारी दिए । बसपार्कका व्यवसायीलाई भने आफ्नो पसल हटाउन महानगरले यस अघिनै ३५ दिने सूचना जारी गरिसकेकोे छ ।
महानगरपालिकाले शुरुमा २५ तलाको टावर बनाउदा निर्माण लागत ८१ करोड रुपैयाँ लाग्ने अनुमान गरुको थियो । तर, अव १२ तलाको मात्र बनाउँदा पनि लागत बढेर ३ अर्व रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नाकाबन्दी पछि सिमेन्ट, छडलगायतका निर्माण सामग्रीको मुल्य उच्च रुपमा बढेकाले भवन बनाउँदै जाँदा अझै लागत बढ्न सक्ने काफ्लेको अनुमान छ ।

कुल २३ रोपनी ५ आना क्षेत्रफल रहेको उक्त स्थानमा ४० प्रतिशत क्षेत्रफल भवनले लिने छ । ६० प्रतिशत जग्गा भने खाली नै राखिने भएको छ । खाली रहेको ठाउँमा आकर्षक बगैचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने छ । साथै, सो भवनमा मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरुको प्रतिविम्व हुनेछ । अत्याधुनिक सुविधा सम्पन्न उक्त भवनको लुक्सले नेपाली कला संस्कृतिको आनन्द दिने काफ्लेको दावी छ । टावरको २० प्रतिशत स्थान भने पार्किङको लागि छुट्याइएको छ ।

kathmandu -tower-3

टावरको सवैभन्दा तल अर्थात ग्राउन्ड फ्लोरमा अरनीको बस पार्किङ रहनेछ । त्यस्तै, त्यसको माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा महानगरको वडा कार्यालय समेत रहने छ ।

महानगरपालिकाले टावर निर्माणका लागि जलेश्वर स्वछन्द विकोइ विल्डर्शसँग सम्झौता गरिसकेको छ । निर्माण कम्पनी र महानगरबीच गत फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० बर्षसम्म चलाउनेछन् । त्यस्तै, सुरु गरेको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्सपछिका २५ बर्ष सम्बन्धित कम्पनीले नै संचालन गर्ने छ । निर्माण कम्पनीले ३० बर्ष पछिमात्र सो टावर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्