मुख्य समस्या भनेको न्युन बिजकीकरण नै हो । अहिले ७ हजार रुपैयाँ पर्ने जुत्ता भन्सारबाट ७ सय रुपैयाँको विल बनाएर छुटाइरहेका छन् ।
सरकारले तयारी जुत्ता र कच्चा पदार्थको भन्सार एउटै लगाउँदा व्यवसायीहरु मारमा परेका छन् । कम्तीमा १५ प्रतिशत फरक र न्युन बिजकीकरण रोकियो भने हामी २ वर्षभित्रमा जुत्तामा ८० देखि ९० प्रतिशतसम्म आत्मनिर्भर हुन्छौं । भुकम्प तथा नाकाबन्दीले नेपाली जुत्ता उद्योगमा पारेको समस्या, नेपाली जुत्ता उद्योगको बर्तमान समस्या तथा अन्य समसामयिक विषयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोयिसशन (एफम्यान)का पूर्व अध्यक्ष तथा शिखर शु इण्ड्रष्टीजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानी
व्यवसायीहरु भुकम्प र भारतीय नाकाबन्दीले जुत्ता उद्योगलाई एकदमै ठूलो प्रभाव पार्यो भनिरहेका छन् । नेपाली जुत्ता उद्योगको वास्तविक अवस्था कस्तो छ ?
नेपाली जुत्ता तथा चप्पल उद्योगका लागि चाहिने ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थ चीनबाट आउँछ । त्यो पनि खासा नाका हुँदै । जुरेमा आएको पहिरोको कारण हामीले कच्चा पदार्थ ल्याउन सकेका थिएनौं । त्यो समस्या समाधान हुन नपाउँदै भुकम्पले अप्ठ्यारोमा पार्यो । त्यसपछि तराइ आन्दोलन तथा नाकाबन्दीले समस्या उत्पन्न भएको छ । नेपाली उद्योगीहरुले दशैका लागि मगाएको सामान कोलकोत्तामै अड्किएर बसेका छन् । कच्चा पदार्थ नभएर उत्पादन गर्न सकिरहेका छैनन् ।
समग्रमा जुत्ता उद्योगले कति घाटा व्यहोर्यो ?
अहिले देशको समग्र अर्थतन्त्र नै धराशयी बनेको छ । यो अवस्थामा जुत्ता उद्योगलाई नछुने भन्ने कुरै आउँदैन । तराइ क्षेत्रमा राज्यको उपस्थिती नै छैन । विभिन्न भन्सार नाकाबाट चोरी पैठारी भएर आएका जुत्ता तथा चप्पलले समस्या उत्पन्न गरेको छ । नेपाली व्यवसायीले कच्चा पदार्थ ल्याउन सकेका छैनन भने बैंक व्याज तिर्न नसकेर समस्यामा परेका छन् । यही अवस्थामा कालोबजारी मौलाएको छ । जसको प्रत्यक्ष असर हामी उद्योगीलाई परेको छ । हामीसँग आधिकारीक तथ्याङ्क त छैन तर नेपाली जुत्ता उद्योगमा अर्बो रुपैयाँ लगानी भएको छ । यो आर्थिक वर्षमा कारोवार मै ४० प्रतिशत घाटा हुने छ । यो एकदमै ठूलो घाटा हो ।
नेपाली जुत्ता तथा चप्पलले देशको कुल खपतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटको दावी गर्दै आएका छन् । तर, नाकाबन्दीले कतिपय व्यवसायी जिरोमा झरिसक्यो भन्न थालिसके । वास्तविक अवस्था कस्तो छ ?
कच्चा पदार्थ तथा कामदार अभावका कारण कतिपय व्यवसायीको फ्याक्ट्री नै खुलेको छैन । उनीहरु एकदमै ठूलो समस्यामा परेका छन् । तर, सवै उद्योगको अवस्था त्यस्तो छैन । पछिल्लो समय हरेक उद्योगले वार्षिक रुपमा क्षमता बृद्धि गर्दैै आएका छन् । सवै उद्योग जिरोमा झरेको होइन तर उत्पादन भने एकदमै न्युन छ । हामी कच्चापदार्थमा विदेशीसँग निर्भर छौं । तर विडम्वना भन्नुपर्छ सरकारले तयारी बस्तु आयात र कच्चा पदार्थ आयातमा एउँटै भन्सारदर लगाएको छ । त्यसले पनि व्यवसायीलाई ठूलो मार परेको छ ।
हामी आत्मनिर्भरताको कुरा गर्छौं तर, कच्चा पदार्थमा भारत तथा चीनमा निर्भर छौं । भारतले अघोषित रुपमा नाकाबन्दी लगाउँदा सवै उद्योग समस्यामा परेका छन् । के अरुदेशको सहयोगविना आत्मनिर्भर सम्भव छ ?
शतप्रतिशत आत्मनिर्भर कोहीपनि हुँदैन । तुलनात्मक लाभका बस्तुमा फाइदा लिन खाज्ने हो । आज भारतले नाकाबन्दी लगाएको छैन भनेर भन्दा त हामी यो अवस्थामा छौं । यदि पूर्ण रुपमा नाकाबन्दी लगाउने हो भने हाम्रो हालत के होला ? तसर्थ हामीले पनि सोही अनुरुप आफ्नो पूर्वाधार तयार गर्न सक्नुपर्छ । यदि हामीले बिजुली उत्पादन गरेर भारतलाई बेच्न सकेको भए अहिले भारतले होइन हामीले नाकाबन्दी लगाउन सक्थ्यौं । नेपाली उद्योगीहरुले चीन र भारतबाट कच्चा पदार्थ आयात गर्दै आएका छन् । पछिल्लो समय कतिपय कच्चा पदार्थ नेपाली उद्योगीहरुले नै उत्पादन गर्न थालिसके । तत्कालिन अवस्थामा हामीले ७० प्रतिशत कच्चापदार्थ आयात गर्दै आएका छौं । नेपाली कम्पनीले पीयू सोल तथा छाला उत्पादन गर्दै आएका छन् । यदि जुत्ता चप्पलका लागि आवश्यक सवै कच्चा पदार्थ नेपालमै उत्पादन गर्दा पनि त्यसका लागि आवश्यक ३० प्रतिशत कच्चा पदार्थ आयात नै गर्नुपर्छ ।
अहिले नेपालबाट कच्चा छाला निर्यात भइरहेको छ । यसलाई ‘भ्यालु एड’ गरेर नेपालमै प्रशोधन गर्न सकिँदैन ?
कतिपय उद्योगीहरुले नेपालमै छाला प्रशोधन गरिरहेका छन् । तर, जुन रुपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । आगामी दिनमा यसमा पनि विस्तारै लाग्नेछौं । नेपालबाट प्रति वर्ग फिट २० रुपैयाँमा निर्यात भएको कच्चा छाला हामीले तयारी किन्दा १ सय ५० रुपैयाँभन्दा बढी पर्छ ।
नेपाली जुत्ता उद्योगलाई ‘विदेशी जुत्ता नेपाली ट्याट’ भन्ने आरोप लाग्दै आएको छ । यसलाई कहिलेसम्म हटाउनु हुन्छ ?
यसलाई ३÷४ वटा तरिकाबाट हेरिनुपर्छ । सवै उद्योगलाई एउटै टोकरीमा राखेर हेरिनु हुन्न । पहिला सवै सामान विदेशबाट ल्याउथ्यौं श्रम मात्र नेपाली हुन्थ्यो तर अहिले सोल लगायत अन्य कच्चा पदार्थ नेपालमै बन्न थालिसके । शिखर शुले पहिला अप्पर सोल नै विदेशबाट ल्याएर नेपालमा पेष्टिङ गरेर बेच्थ्यौं । कतिपय व्यापारीले तत्काल लाभ लिनका लागि नेपालमा ब्राण्ड दर्ता गरेर सवै तयारी जुत्ता ल्याएर समेत बेचे । तर, अहिले धेरै उद्योगीहरुले करोडौं लगानी गरेर नेपालमै प्लाण्ट राखेका छन् । अव विदेशमा उत्पादित जुत्तामा नेपाली लोगो टासेर बेच्न सक्ने अवस्था छैन । आगामी दिनमा त्यस्ता व्यवसायीले कि यो फिल्ड नै छोड्नु पर्यो कि प्लाण्ट स्थापना गरेर नेपालमै उत्पादन थाल्नुपर्छ । अहिले आफुले ल्याउन पनि नसक्ने, नेपालमै गर्न पनि नसक्ने र अर्काले गरेको देख्न पनि नसक्ने व्यवसायीहरुले अनावश्यक हल्ला फैलाएका छन् । जसले गर्दा नकारात्मक हल्ला फैलिएको हो ।
नेपाली जुत्तामा एकरुपकता ल्याउन सामुहिक व्यापार चिन्ह प्रयोगमा ल्याएका थिए । त्यसको पनि दुरुपयोग भयो भन्ने हल्ला छ नि ?
नेपाली जुत्ता चप्पललाई कसैले दुरुपयोग नगरुन भनेर सामुहिक व्यापार चिन्ह प्रयोगमा ल्याएका हौं । नेपाली पश्मिना तथा गलैचाको दुरुपयोग गर्दा निर्यात नै ठप्प भयो । अहिले होलोग्राम लगाएकै कारण केही राम्रो भएको छ । आगामी दिनमा नेपाली जुत्ता चप्पलको नाममा कसैले दुरुपयोग नगरुन भने उद्देश्यले होलोग्रामको व्यवस्था गरेका हौं । तर, कसले के गरे सवैको पछि लागेर हिड्न सकिन्न ।
नेपालमा जुत्ता उद्योग खुलेको २ दशक भइसक्यो अझै पनि मजदूरको समस्या भयो भन्दै हुनुहुन्छ । यो समस्या कहिले सम्म ?
शुरुमा एकदमै ठूलो समस्या थियो । तर अहिले त्यस्तो समस्या छैन । भारतीय मजदुर बढी भएका उद्योगहरुमा समस्या देखिएको छ । भारतीय मजदूर राख्ने कतिपय उद्योगहरु भुकम्प र नाकाबन्दी पश्चात बन्द नै छन् । पहिला सिमित जातका मान्छेले मात्र यो काम गथ्र्थे तर अहिले सवै जातका मान्छे यो क्षेत्रमा छन् । अहिले बजारमा शिखर शुबाट उत्पादित ४ हजारभन्दा बढी जनशक्ति छन् । पछिल्लो समय अन्य उद्योगमा भन्दा पनि लेडिज जुत्ता र छालाका मात्र जुत्ता उत्पादन गर्ने उद्योगमा केही समस्या छ ।
नेपाली जुत्ता उद्योगका अन्य के–कस्ता समस्या छन् ?
मुख्य समस्या भनेको न्युन बिजकीकरण नै हो । अहिले भन्सार नाकाबाट जुत्ताका लागि आवश्यक सोलभन्दा जुत्ता सस्तो मुल्यमा आइरहेको छ । तयारी जुत्ता र कच्चा पदार्थको भन्सार दर कम्तीमा १५ प्रतिशत फरक र न्युन बिजकीकरण रोकियो भने हामी २ वर्षभित्रमा हामी जुत्तामा ८० देखि ९० प्रतिशतसम्म आत्मनिर्भर हुन्छौं । अहिले ७ हजार रुपैयाँ पर्ने जुत्ता भन्सारबाट ७ सय रुपैयाँको विल बनाएर छुटाइरहेका छन् । न्युनविजकीकरण नरोकेसम्म नेपाली जुत्ता चप्पलको बजारमा हिस्सा बढ्ने छैन ।
अव मेलाको कुरा गरौं । तपाइहरु नेपाली जुत्ता तथा चप्पलको बाह्रो औद्योगिक प्रदर्शनी गरिरहनु भएको छ । यसले ब्राण्डिङमा कत्तिको सहयोग पुगेको छ ?
नेपाली जुत्ता उद्योग यो अवस्थामा आइपुग्नुमा व्यवसायीहरुको सामुहिक प्रयासको ठूलो भुमिका छ । तर, हाम्रो अन्तिम टार्गेट भनेको उपभोक्ता नै हुन । मेलाले नेपाली उत्पादन प्रवद्र्धन गर्न ठूलो सहयोग पुगेको छ । उपभोक्ताले माया गरेकै कारण यस्तो अवस्थामा पनि हामीले मेला गरिरकेका छौं । एकदमै सफल पनि भएको छ । मेलामा उपभोक्ताले सवै कम्पनीका उत्पादन एकै ठाउँमा पाउँछन् भने आफ्नो रुची र क्षमता अनुसारका जुत्ता खरिद गर्ने अवसर मिल्ने छ ।
उपभोक्ताले शोरुममा किन्नु र मेलामा किन्नुमा के फरक छ ?
शोरुममा किन्दा एउटामात्र कम्पनीको उत्पादन पाइन्छ । मेलामा ५०/६० वटा कम्पनीका उत्पादन उपलब्ध छन् । ग्राहकले सवै कम्पनी उत्पादन रोजीरोजी किन्न पाउँछन् । त्यस्तै मेलामा केही सस्तो पनि छ । फुटवेयर म्यानुफ्याच्र्श एशोसियशनले मेलाका लागि १५ प्रतिशत छुट दिएको छ । मेलामा गएर आफ्नो रुची र क्षमता अनुसारको जुत्ता किन्नुको मज्जा नै बेग्लै छ ।