Logo

ग्याँस वितरणमा डिपोवालाको मनोमानी, डिपो नै कालोबजारीमा संलग्न

ग्याँस वितरणमा डिपोवालाको मनोमानी, डिपो नै कालोबजारीमा संलग्न


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । पछिल्लो समय देशमा ग्याँसका बुलेट भित्रने क्रम बढेपनि उपभोक्ता भने ग्याँस पाउनबाट बञ्चित छन् । ग्याँस उद्योगीहरुले आ–आफ्ना डिपोमार्फत ग्याँस वितरण गरेको बताइरहँदा उपभोक्ताहरुले भने पाएका छैनन ।

ग्याँस डिपो संचालकहरुले उद्योगबाट ग्याँस ल्याएर बढी मुल्यमा बेच्ने गरेका कारण उपभोक्ताहरु बञ्चित हुनुपरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । हाल नेपाल ग्याँसले दैनिकजसो डिपोमार्फत ग्याँस वितरण गर्दै आएको छ । तर, सम्बद्ध उपभोक्ता भने ग्याँस नपाएको गुनासो गर्छन । डिपोले वास्तविक उपभोक्तालाई पालो अनुसार ग्याँस दिनुभन्दा पनि आफन्त र बढी पैसा दिनेलाई बेच्ने गरेको बालाजु माछापाखरीकी एक उपभोक्ताले बनाइन् । ‘हामी भदौंदेखि सिलिण्डर र  पैसा बुझाएर लाइनमा बसेका छौं,’ बालाजु माछापोखरीस्थित नेपाल ग्याँसको डिपोमा  लाइनमा वसेकी एक महिलाले भनिन्, ‘तर, डिपो संचालकले आफन्त र बढी पैसा दिनेलाई मात्र उपलब्ध गराउँदै आएको छ ।’ साथै, उक्त डिपोले आधा सिलिण्डर ग्याँसलाई २ हजार रुपैयाँभन्दा बढीमा बेच्ने गरेको समेत स्थानीय उभोक्ताहरुको गुनासो छ ।

त्यसैगरी, एभरेष्ट ग्याँसले पनि दिनहुजसो ग्याँस वितरण गर्दै आएको छ । आफुहरुले डिपोमार्फत मात्रै ग्याँस वितरण गर्ने गरेको नेपाल ग्याँस उद्योग संघका अध्यक्ष तथा एभरेष्ट ग्याँसका संचालक शिव घिमिरे बताउँछन् । ‘हामीले कम्पनीमा आएका जति ग्याँस डिपोमार्फत मात्रै वितरण गरिरहेका छौं,’ उनले भने, ‘आफुलाई चाहिँदा पनि डिपोमै लिन जानुपर्ने अवस्था छ ।’ तर, उपभोक्ताहरु भने  ठिक त्यसको विपरित डिपोमा ग्याँस आएपनि आफुहरुले नपाएको गुनासो गर्छन । उपत्यकाका धेरै जसो डिपोमा लामो समयदेखि ग्याँस नपाएको उपभोक्ताहरुको गुनासो छ । पछिल्लो समय सीमा नाकाबाट केही बुलेट ग्याँस भित्रिएपनि काठमाडौंमा भने कम आएकोले समस्या उत्पन्न भएको घिमिरे बताउँछन् । ‘तत्काल सहज हुनका लागि कम्तीमा पनि ५ हजार बुलेट ग्याँस नेपाल भित्र पर्छ,’ उनले भने, ‘२/४ सय बुलेट ग्याँस भित्रदैमा सहज हुँदैन ।’

वास्तविक  उपभोक्ताले ग्याँस नपाउनुमा राज्य संयन्त्र सक्रिय नहुनु प्रमुख कारण रहेको नेपाल ग्याँस उद्योगका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । ‘हामीले दैनिक रुपमा डिपोको लिष्ट तयार गरी ग्याँस वितरण गर्दै आएका छौं,’ उनले भने, ‘जुन रुपमा ग्याँस वितरण गरिएको छ त्यसले उपभोक्ताले कुनै न कुनै रुपमा राहत पुग्नुपर्छ ।’ आफन्तलाई वितरण गर्ने वा बढी पैसा लिएर कालोबजारी गर्ने डिपोलाई सरकारले कारवाही गर्नुपर्ने समेत उनले बताए । साथै, कतिपय स्थानका डिपोवालाहरुको दादागिरीका कारण समस्या भएको हुनसक्ने समेत उनले जानकारी दिए ।

समस्याको घडीमा ग्याँस वितरणलाई कसैले अवसरको रुपमा लिन्छन भने त्यसलाई तत्काल कडा कारवाही गरिनुपर्ने ग्याँस विक्रेता महासंघ नेपालका महासचिव चन्द्रबहादुर थापा बताउँछन् । ‘हामीले थाहापाएसम्म ग्याँस डिपोहरुले कालोबजारी गरेर ग्याँस वितरण गरेका छैनन,’ उनले भने, ‘यदि ग्याँस वितरकबाट फट्याइ भएको छ भने त्यसलाई स्थानीय सरोकारवाला र सरकारी संयन्त्र मिलेर सहज रुपमा बाड्ने वातावरण बनाउनु पर्छ ।’ उपभोक्तालाई समज रुपमा ग्याँस उपलब्ध गराउनका लागि स्थानीय डिपोबाटै ग्याँस वितरण गर्नुपर्ने समेत उनको भनाइ थियो ।

पछिल्लो समय भारतीय नाकाबाट ग्याँसका बुलेट भित्रने क्रम बढेको छ । तर, ती ग्याँस कसरी कहाँ वितरण भएको छ भन्न कुनै पनि सरकारी निकायलाई जानकारी छैन । भन्सार विभागका अनुसार पुस यतामात्रै १ सय ८४ बुलेट ग्याँस नेपाल भित्रिसकेको छ । तर, उपभोक्ता भने दाउरा वा विजुलीमा खाना पकाउन वाध्य छन् । ग्याँस भित्रने क्रम बढ्नु र उपभोक्ताले ग्याँस नपाउनुमा कालोबजारीमा संलग्न भएको पुष्टि हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । लामो समयदेखि लाइनमा वस्ने धेरै उपधोक्ताहरु ग्याँस नपाएर त्यतिकै बस्न वाध्य भएका छन् ।

यता वाणिज्य विभागले भने केही समयता कहाँ कसरी ग्याँस वितरण भइरहेको छ त्यसको जानकारी राख्न थालेको जानकारी दिएको छ । ‘हामीलाई कुन कम्पनीले कति ग्याँस बाडिरहेको छ भन्ने जानकारी आउँछ,’ विभागका प्रवक्ता हरिनारायण बेलवासेले भने, ‘तर, सवै ठाउँमा विभागको अपस्थिती सम्भव नभएकाले केही विकृति भएको हुन सक्छन ।’

प्रतिक्रिया दिनुहोस्
MBL