Logo

भारतसँगको आयात ४१ प्रतिशतले घट्यो, तरकारी फलफुलको आयात भने बढ्यो

भारतसँगको आयात ४१ प्रतिशतले घट्यो, तरकारी फलफुलको आयात भने बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दी तथा तराइमा भइरहेको बन्दहड्ताले भारतबाट आयातीत अधिकांश बस्तुको आयात घटेपनि केही बस्तुको भने बढेको छ । विशेषगरी जिउँदो जनावर, केमिकल तथा फर्टिलाइजर, तरकारी, फलफुलजस्ता चाडै विग्रने बस्तुको आयात भने बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्र वैंकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको ४ महिनामा भारतबाट ९४ अर्व ७० करोड बराबरको वस्तु आयात भएको छ । जुन गत बर्षको सो अवधिको तुलनामा ४१ दशमलव ८ प्रतिशतले कम हो । गत बर्षको ४ महिनामा भारतबाट १ खर्व ६२ अर्व बराबरको सामान आयात भएको थियो । नाकाबन्दीले भारतबाट आयात हुने मुख्य ४९ उत्पादनमध्ये ४१ बस्तुको आयात घटेको छ । तर, भारतले चाडै विग्री बस्तु भने सीमानाकाबाट छोड्दै आएको छ ।

सो अवधिमा कुल ८ वटा बस्तुको आयात बढेको देखिएको छ । जसमा फलफुल, तरकारी, नुन, जनावर,चिनी, केमिकल पलर्टिलाइजर, स्टिल सीट,एमएस वायरका आयात बढेको हो । त्यसमध्ये स्टिल सिटको आयात सवैभन्दा बढी १ सय ८० प्रतिशतले बढेको छ । गत आवको ४ महिनामा ६२ लाख बराबरको स्टिल सिट आयात भएकोमा चालु आवको सो अवधिमा १ करोड ७६ लाख बराबरको आयात भएको छ ।

त्यस्तै केमिकल फर्टिलाइजरको आयात ६७ प्रतिशतले बढेर ८७ करोड ३७ लाख पुगेको छ । तरकारी र चिनीको आयात ६५/६५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत चार महिनामा ११ लाख ८९ हजार बराबरको चिनी र २ अर्व ४५ करोड बराबरको तरकारी आयात भएको छ । सो अवधिमा भारतबाट जिवीत जनावरको आयात ४० दशमलव ९ प्रतिशतले बढेको छ ।

भारतबाट विशेषगरी कुहिने तथा गल्ने वस्तुको आयात बढी भएको देखिन्छ । नेपालमा आयात हुने पेट्रोलियम पदार्थलगायतको आयात घट्दा सम्पूर्ण आयातको बृद्धिदरमा नकारात्मक प्रभाव परेको छ । सो अवधिमा कुल वस्तु आयात ३६ दशमलव ८ प्रतिशतले घटेर रु. १ सय ६० अर्ब ९९ करोडमा झरेको छ । गत ४ महिनामा भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस.विलेट, मेशीनरी तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL