Logo

नाकाबन्दीको प्रभाव, बैंक ‘अपरेट’ गर्नै हम्मे हम्मे

नाकाबन्दीको प्रभाव, बैंक ‘अपरेट’ गर्नै हम्मे हम्मे


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । भारतीय नाकाबन्दीका कारण बैंक तथा वित्तीयसंस्था संचालनमै समस्या उत्पन्न भएको छ । पछिल्लो समयको बढ्दो लोडसेडिङ र जेनेरेटर संचालन गर्न पेट्रोलियम पदार्थ नभएपछि उक्त समस्या आएको हो ।
इन्धन अभावका कारण पछिल्लो समय वाणिज्य बैंकहरुले आफ्नो ‘ओर्किङ आवर’ नै घटाएको नेपाल बैंकर एशोसियसनका उपाध्यक्ष तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘हाल सवै बैंकले रात्रीकालिक सेवा बन्द गरेका छन्,’ उनले भने, ‘बैंकहरुले रेगुलर आवर मात्र सेवा प्रदान गर्दै आएका छन् ।’

बढ्दो लोडसेडिङ तथा इन्धन अभावका कारण मुख्य सर्वर संचालन गर्ने समस्या परिरहेको उनले जानकारी दिए । ‘बैंकहरुको सवै अपरेटिङ सिस्टम मुख्य सर्वरबाटै हुन्छ,’ उनले भने, ‘यदि मुख्य सर्वरमा २४ सै घण्टा बिजुली दिन सकिएन भनै सवै सिस्टम डामाडोल हुनेछ ।’ पछिल्लो समय बाणिज्य बैंकहरुले सानो जेनेरेटर चलाएर मुल्य सर्वर संचालन गर्दै आएको समेत उनले जानकारी दिए ।

बज्राचार्यका अनुसार बैंकहरुले इन्धन खपत गर्ने तरिकाबाट रेगुलर सेवा भने दिँदै आएको छ । कतिपय बैंकहरुले काउन्टर संख्या समेत घटाएका छन् भने एसी तथा विजुली खपत गर्ने अन्य उपकरणहरु संचालनमा बन्देज नै लगाइएको छ । साथै, बत्ती समेत वाल्न छोडिएको उनले जानकारी दिए । ‘इन्धन खपतका लागि हामीले कतिपय स्थानमा अध्यारोबाटै भएपनि सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनले भने ।

यस्तै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलामा पनि बन्दका कारण बैंक संचालनमा ठूलो समस्या परेको बताउँछन् । ‘बढ्दो लोडसेडिङ तथा इन्धन अभावले गर्दा बैंकको अनुगमन, नियमन तथा बजारिकरणको काम नै रोकिएको छ,’ उनले भने, ‘हालसम्म जसोतसो संचालन गरेका छौं तर यो समस्या केही समय लम्बियो भने ठूलो समस्या पर्ने छ ।’

हाल रेलुगल आवर वाहेक अन्य सेवा कटौती गरिएको प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर बताउँछन् । ‘रात्रीकालिन सेवा सवै बन्द छन्,’ उनले भने । बैंकहरुले आइतबारदेखि विहीबारसम्म १० बजेदेखि ३ बजेसम्म र शुक्रबार २ बजेसम्म मात्र सेवा दिँदै आएका छन् ।

यता राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा पनि इन्धन अभावका कारण बैंक संचालनम कठिनाइ भएको बताउँछन् । ‘अहिले भुकम्पको बेलामा भन्दा ठूलो समस्या देखिएको छ,’ उनले भने, ‘तराइ बन्दका कारण तराइ क्षेत्रका शाखाहरु संचालनमा आउन सकेका छैनन् भने इन्धन अभावका कारण अन्य क्षेत्रमा पनि समस्या उत्पन्न भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL