Logo

नाकाबन्दीको असर उद्योगमा, नयाँ दर्ता घटे

नाकाबन्दीको असर उद्योगमा, नयाँ दर्ता घटे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । करीव ३ महिना लामो नाकाबन्दीले देशभरका उद्योगहरु ठप्प हुनुका साथै नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेहरुको मनोवल पनि कमजोर भएको छ । असोज १ देखि हालसम्म उद्योग विभागमा दर्ता भएको उद्योगको तथ्यांकले देखाएको हो ।

नाकाबन्दी पछि विभागमा जम्मा ७३ ओटा उद्योग दर्ता भएका छन् । जुन गत बर्षको सो अवधिको तुलनामा कम हो । गत बर्षको सो अवधिमा ८३ ओटा उद्योग दर्ता भएका थिए । पछिल्लो समय वार्षिक उद्योग दर्ता हुने क्रम बढेपनि यस वर्ष भारतको नाकाबन्दीले गर्दा घटेको विभागले जानकारी दिएको छ ।

नाकाबन्दीले विशेषगरी नेपाली उद्योगी व्यवसायीको मनोवल कमजोर बनाएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘अहिले तुलनात्मक रुपमा नेपाली उद्योग दर्ताको क्रम घटेको छ,’ उनले भने ‘त्यसमा पनि तराईबाट त दर्ता गर्न नै आएका छैनन् ।’ नाकाबन्दीले पहाडमा उद्योग सञ्चालन गर्न चाहने उद्योगीको समेत मनोवल खस्केको न्यौपानेले बताए । उनका अनुसार विदेशी उद्योग दर्ता पनि गत बर्षको भन्दा घटेको छ । ‘भूकम्पपछि विस्तारै तंग्रिन थालेको उद्योग नाकाबन्दीले थला परेको छ’ उनले भने ।

विभागको तथ्यांक अनुसार असोज देखि हालसम्म उत्पादनमुलक उद्योग दर्ता बढी भएको छ । सो अवधिमा ३१ ओटा उत्पादनमुलक उद्योग दर्ता भएका छन् । त्यस्तै सेवासम्वन्धी २० ओटा उद्योग दर्ता भएको तथ्यांकले देखाएको छ । ती उद्योगहरुको जम्मा पूँजी ७ अर्व ८५ करोड रुपैयाँ छ । गत बर्षको सो अवधिमा ११ अर्व १२ करोड रुपैयाँ थियो ।

ती कम्पनीबाट ३ हजार २ सय १६ जनाले रोजगारी पाउने छन् । तर, गत बर्ष ३ हजार ९ सय ५९ जनाले रोजगारी पाउने गरी उद्योग दर्ता भएका थिए । उद्योगमा ढिला प्रतिफल पाइने क्षेत्र भएपनि लामो नाकाबन्दीले उद्योग स्थापनाको हिम्मत नै नआएको न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL