Logo

सेज संचालनमा नआएपछी कार्यविधि परिमार्जन गरिँदै, भाडादर पनि घटाईँदै

सेज संचालनमा नआएपछी कार्यविधि परिमार्जन गरिँदै, भाडादर पनि घटाईँदै


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । उद्घाटन भएको १ वर्ष वितिसक्दा भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) संचालनमा नआएपछि त्यसको कार्यविधि नै परिमार्जन गरिने भएको छ । मौजुदा कार्यविधि अनुसार सेज संचालनमा ल्याउन कठिनाइ भएकाले कार्यविधि नै परिमार्जन गर्न लागिएको सेजका कार्यकारी निर्देशन डा. चण्डिकापंसाद भट्टले बिजखबरलाई बताए ।

भट्टका अनुसार हाल कार्यविधि परिमार्जन गर्दै भाडादर समेत घटाइएको छ । ‘हामीले भाडादर घटाउनुका साथै व्यवसायीका लागि अन्य सेवासुविधा थप गरी परिमार्जनका लागि कार्यविधि मन्त्रालय पठाएका छौं,’ उनले भने, ‘कार्यविधि परिमार्जन भएर आएपछि सेज संचालनमा आउने छ ।’

केही समय अघि सेज संचालका लागि व्यवसायीहरुसँग आशयपत्र माग गरिएको थियो । त्यतिबेला पनि एकदमै न्युन मात्रमा निवेदन  परेको थियो । ६९ वटा व्यवसाय संचालन गर्न सकिने उक्त सेजमा जम्मा १२ जना व्यवसायीले मात्र आवेदन दिएको कार्यकारी निर्देशक भट्ट बताउँछन् ।

झण्झटिलो संचालन प्रक्रिया तथा बढी भाडा भएका कारण व्यवसायीहरुले आवेदन नदिएको एक व्यवसायीले बताए । हाल सेजले मासिक भाडा प्रति बर्गमिटर १ सय ५० रुपैयाँ निर्धारण गरेको छ । उक्त भाडादरमा व्यवसाय गर्न नसकिने भन्दै व्यवसायीहरुले आपत्ती जनाएका थिए ।

सेजमा उद्योगीहरुका लागि थप सेवा सुविधा हुनुका साथै भाडादर समेत सस्तो हुनेपर्ने सम्बद्ध व्यवसायीहरुको माग छ । ‘अन्य देशहरुमा सेज क्षेत्र भित्र उद्योग संचालन गर्दा कम भाडा तिर्नुपर्छ,’ एक उद्योगीले भने, ‘तर, नेपालमा भने एकदमै महङ्गो छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL