Logo

सिमेन्ट उद्योग पूर्ण क्षमतामा नचल्दा अझै आयातमा निर्भर, विदेशी लगानीको प्रतिफल राम्रो

सिमेन्ट उद्योग पूर्ण क्षमतामा नचल्दा अझै आयातमा निर्भर, विदेशी लगानीको प्रतिफल राम्रो



काठमाडौं । नेपालमा स्थापना भएका सिमेण्ट उद्योगहरुले आफ्नो क्षमता अनुरुप सिमेन्ट उत्पादन गर्न नसक्दा आयातमा भर पर्नु परेको छ । नेपाल राष्ट्र बैंकले गरको अध्ययन अनुसार देशमा संचालित ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ । तर ती उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट मात्रै उत्पादन भइरहेको छ ।

राष्ट्र बैंकले गरेको नेपालका वैदेशिक लगानीका सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभाव सम्बन्धी अध्ययन अनुसार देशमा वार्षिक ९० लाख ५० हजार मेट्रिक टन सिमेन्ट आवश्यक छ । तर देशमा स्थापित उद्योगले आफ्नो क्षमता अनुरुप सिमेन्ट उत्पादन गर्न नसक्दा वार्षिक १५ लाख ६० हजार मेट्रिक टन आयात गर्नु परेको उक्त सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार लगानी र उत्पादन क्षमताका आधारमा देशमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको देखाएको छ । राष्ट्र बैंकले उक्त सर्वेक्षणमा नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभावको विषयमा अध्ययन गरिएको थियो ।

जसअनुसार प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको अध्ययनले देखाएको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने अध्ययनले देखाएको छ । साथै त्यसरी उद्योग स्थापना गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएको छ । त्यसरी उद्योग स्थापना हुँदा उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरु परेको देखाएको छ ।

अध्ययनमा विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २ र २ गरी ७ उद्योगहरुलाई समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL