Logo

कोरोना संक्रमणको त्रासबीच लाइसेन्सको ट्रायल नरोकिने, मापदण्ड पालनामा भने कडाई

कोरोना संक्रमणको त्रासबीच लाइसेन्सको ट्रायल नरोकिने, मापदण्ड पालनामा भने कडाई



काठमाडौं । कोरोना महामारीको दोस्रो लहर फैलिएपनि सवारी चालक अनुमति पत्र (लाईसेन्सको) परिक्षा नरोकिने भएको छ । गत शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले नेपालभर कोरोना महामारीको दोस्रो लहर फैलिएको भन्दै मानिस भेला नहुन आग्रह गरेको थियो । सोहीअनुसार विवाह, पास्नी, ब्रतबन्धलगायत मानिस भेला हुनुपर्ने कार्यक्रममा पनि २५ जनाभन्दा बढि जम्मा हुन नपाईने निर्णयसमेत गरिएको छ ।

मन्त्रीपरिषदले व्यक्तिगत काम मात्रै नभइ स्विमिङ पुल, सिनेमा घर, क्लवलगायत स्थानमा पनि बढि भिडभाड हुने भन्दै बन्द गर्न निर्देशन दिएको छ । तर पछिल्लो समय धमाधम भईरहेको सवारीचालक अनुमतिपत्र (लाईसेन्स)का लागि लिईने लिखित तथा प्रयोगात्मक परिक्षाहरु भने नरोकिने भएका छन् ।

यस्तो परिक्षामा बढि भिडभाड नहुने र भिडभाड भएपनि सोहीअनुसारको स्वास्थ्य मापदण्ड पुरा गरेर परिक्षा हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रहरुमा खासगरी भिडै हुँदैन । सेवाग्राहीलाई उचित सामाजिक दूरी र स्वास्थ्य मापदण्डका सम्पुर्ण तयारीसहितको व्यवस्था गरिएको छ । यसरी भिडभाड नै नहुने र स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना हुने भएपछि यसलाई बन्द गर्नुको औचित्य नभएको उनको भनाई छ ।

अघिल्लो बर्ष चैत ११ गतेदेखि लगाईएको लकडाउनको बेलामा यातायात क्षेत्रका सबै सेवाहरु ठप्पजस्तै थिए । तर कोरोना महामारीको सन्त्रास कम हुँदै जाँदा गत मंसिर महिनादेखि लाईसेन्सको आवेदन लिने, ट्रायल लिनेलगायतका कामहरु सुरु भएका थिए । यसबीच बाँकी रहेको प्राय सेवाग्राहीको ट्रायल भएको छ भने नयाँ आवेदन दिने ६ देखि ७ लाख सेवाग्राहीको परिक्षा हुनै बाँकी रहेको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।

यसरी अनलाईनमार्फत आवेदन दिने सेवाग्राहीको संख्या दिनानुदिन बढ्दै जाँदा दैनिक ट्रायल दिन सकिने क्षमता भने जम्मा ५ हजार मात्रै छ । अर्थात हाल नेपालभरीका १९ यातायात कार्यालयमार्फत दैनिक ५ हजार जनाले ट्रायल दिने गरेका छन् । जुन रोकिए अझै भयावह स्थिति आउने भन्दै यसलाई नरोकिने महानिर्देशक घिमिरेले बिजखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्