Logo

प्रधानमन्त्रीले भने–सावधानी नअपनाए पुनः लकडाउनमा जानुको विकल्प छैन

प्रधानमन्त्रीले भने–सावधानी नअपनाए पुनः लकडाउनमा जानुको विकल्प छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस विरुद्ध सावधानी नअपनाए पुनः लकडाउनमा जानुको विकल्प नरहेको बताए । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिकसाधारण सभामा बोल्दै उनले सक्दो सावधानी नअपनाए पुनः पहिलेकै जस्तो अवस्था आउन सक्ने बताएका हुन् । पछिल्लो समय कोभिड–१९ को प्रकोप बढेको भन्दै उनले सक्दो सचेतना अपनाउनसमेत आग्रह गरेका छन् ।

साधारणसभालाई सम्बोधन गर्दै उनले छिमेकी मुलुक भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेको बताए ।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए।

भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए।

‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने,’ उनले भने, ‘हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने, किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं ।’

यस्तै उनले कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई समाधान गर्दै सरलिकृत बनाउँदै लग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। सभामा बोल्दै उनले अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी गरेका छन्। कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको उनको भनाई छ ।

कार्यक्रममा सम्बोधन गर्र्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना महामारीको संक्रमण फैलिएको एक बर्ष वितिसक्दा पनि अर्थतन्त्रमा डामाडोलको अवस्था रहेको बताए । उनले पर्यटनलगायत क्षेत्रका गरिएको खर्वाैं लगानी डुविरहेको उल्लेख गरेका छन् ।

‘पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् छैन,’ उनले भने, ‘विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद् छैन भन्ने देखिन्छ ।’

उनले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएकाले पनि हामीले अर्थतन्त्र सुधारोन्मुख बनाउन लागिपर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL