Logo

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर



काठमाडौं । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनि लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनकोे दुःखद निधन भयो ।

आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए । गत माघ २२ गते घाइते भएपछि उपचारार्थ उनि दुबईकै अस्पतालमा भर्ना भए । चिकित्सकले उनालाई बचाउन सकेनन् । माघ २३ गते बिहान निधन भएका मोचीको शव नेपाल ल्याउन भने भण्डै तीन महिना लाग्यो । उनको शव गत चैत ४ गते मात्रै नेपाल ल्याउन सकियो ।

क्षतिपूर्तिका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा भेटिएकी उनकी शोकाकुल श्रीमती राजकुमारी राम भन्छीन, ‘शवसँगै कम्पनीले पठाएको मात्र ४ हजारले किरिया खर्चसम्म पनि टरेन । कम्पनीले पहिलो महिनाको तलब पठाए पनि बाँकी महिनाको रकम अहिलेसम्म मेरो हातमा परेको छैन । पठाइएको छ भन्ने जवाफ मात्र पाएकी छुँ ।’

मोचीको मृत्युपछि सँगै काम गर्ने साथीबाट रकम उठाएर परिवारलाई पठाइएको भनिए पनि कहाँबाट कति पठाइएको हो भन्ने जानकारीसमेत परिवारसँग छैन । अहिले यो परिवार रकमकै लागि यताउति भौँतारिइरहेको छ । मृतककी जेठी छोरी लक्ष्मीकुमारी राम हाल १८ वर्षकी भइन् । उनले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नसमेत पाएकी छैनन् ।

त्यस्तै, १६ वर्षीया छोरी ताराकुमारी राम अहिले कक्षा ७ मा अध्ययनरत छिन् । ते¥ह वर्षीया अर्की छोरी मालाकुमारी हाल कक्षा २ मा पढ्छिन् । दुई छोरामध्ये देवकुमार राम ७ वर्ष र आशाकुमार राम ५ वर्षका भए । मृतकका दुवै छोरालाई अहिलेसम्म पनि विद्यालय भर्ना गरिएको छैन ।
‘भाइ त म¥यो अब भाइका छोराछोरीको मात्र चिन्ता छ,’ मृतकका दाजु बिन्दश्री मोचीले भने, ‘विदेश जाँदा साहुसँग लिएको १ लाख ४० हजारको ब्याजसमेत तिर्न सकिएको छैन ।’ भाइको मृत्युपछि भाइको परिवारको जिम्मेवारी आफ्नो काँधमा थपिएको उनले बताए ।

खरले छाएको घरबाहेक जग्गा जमीनको नाममा मृतकको परिवारको केही छैन । परिवारमा छ छोराछोरी र श्रीमती छन् । नेपालमा रहँदा मजदुरी गरेरै परिवार धानिरहेका मोची सप्तरीकै अपरिचित तुनाराम भन्ने व्यक्तिको माध्यमबाट रोजगारीका लागि दुबई पुगेको थिए ।

त्यस्तै, चितवन जिल्ला कठाइकी २० वर्षीया विपना चौधरीले कहिल्यै पनि सोचेकी थिइनन् श्रीमानसँग सदाका लागि बिछोडिन्छु भन्ने । पाँच वर्षअघि मात्रै प्रेम विवाह गरेकी चौधरीका पति आशिष चौधरी विवाहपछि पोखरामा गई ग्रिलसम्बन्धी काम गरिरहेका थिए । उक्त कामबाट परिवार धान्न पुग्ने भए पनि साउदी अरबमा रहेका उनका काका आशारामले नेपालमा भन्दा विदेशमा राम्रो कमाइ हुने भनेपछि उनले उतै जाने सोच बनाए । काकाले पनि उतैबाट प्रवेशाज्ञा पठाए र उनि कतार गए । तर, काम गर्न गएको डेढ वर्षमै उनले ज्यान गुमाए । मृतकको दाबी रकम बुझ्न बोर्डमा आएकी मृतककी पत्नी चौधरीले भावुक बन्दै भनिन, ‘उहाँ बित्नुभएको खबर पाएको अघिल्लो रात हाम्रो फोनमा कुरा भएको थियो । अचानक बिहान उहाँको मृत्यु भयो भन्ने फोन आउँदा ममाथि आकाशै खसे जस्तो भयो ।’

आशिषको २०७४ साल चैत १३ गते मृत्यु भएको थियो ।

वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२÷७३ मा महिला २४ र पुरुष ७ सय ८७ गरी जम्मा ८ सय ११ जनाको मृत्यु भयो । आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५ सय ९३ गरी जम्मा ६ सय ८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव २०७३÷७४ मा महिला १८ र पुरुष ७ सय ३८ गरी जम्मा ७ सय ५६ जनाको मृत्यु भएको थियो ।

आव २०७२÷७३ मा मुटुसम्बन्धी रोगका कारण १ सय ४८, आत्महत्याका कारण १ सय ९, कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २ सय ४१, सडक दुर्घटनाबाट १ सय ३, हत्याबाट ३, हृदयाघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो ।

आव २०७३÷७४ को तथ्याँकअनुसार मुटुसम्बन्धी रोगका कारण ६४, आत्महत्याका कारण ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, प्राकृतिक मृत्यु २ सय ५२, सडक दुर्घटनाबाट १ सय २२, हत्याबाट एक, हृदयाघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो । चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन ।

मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयाघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले देखाउँछ । थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन् ।

तथ्याँकअनुसार आव २०७२÷७३ मा जापानमा दुई, सिरियामा एक, तान्जानियामा एक, ओमानमा चार, कतारमा १ सय २६, कुवेतमा ३१, दक्षिण कोरियामा १३, बहराइनमा आठ, मलेसियामा ३ सय ३७, माल्दिभ्समा २, संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २ सय २३ जनाको मृत्यु भयो । आव २०७३÷७४ मा इजिप्टमा १, जापानमा ४, नाइजेरियामा १, अफगानिस्तानमा १२, कतारमा ४, कुवेतमा १३, दक्षिण कोरियामा ११, नेपालमा १, बहराइनमा ६, मलेसियामा २ सय ५४, माल्दिभ्समा २, संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २ सय ५१ जनाको मृत्यु भएको थियो ।

आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले इजिप्टमा १, भियतनाममा १, जापानमा ४, कतारमा ९२, कुवेतमा १४, जर्मनीमा १, टर्कीमा १, दक्षिण कोरियामा १८, नेपालमा ३५, बहराइनमा ७, मलेसियामा २ सय ९, संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १ सय ५५ जनाको मृत्यु देखाउँछ ।

वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिइकनै नेपालमा बिदामा आउँदा मृत्यु हुनेको तथ्याँकसमेत बोर्डले राख्ने गरेको छ । अहिलेसम्म नेपालमै आएर मृत्यु भएपनि क्षतिपूर्ति बापतको दाबी रकम भने उपलब्ध गराउने गरिएको छैन । तर रकमका लागि भने २०७२ सालदेखि नै निवेदन पर्ने गरेको जानकारी बोर्डले दिएको छ ।
श्रम कार्यालयले रोजगारदाता कम्पनीबाहेक अन्य माध्यमबाट रोजगारीका लागि विदेश नजान बेला बेलामा सूचनासमेत प्रकाशन गर्ने गर्छ । आफू जाने कम्पनीबारे बुझ्दै नबुझी र सूचनाको ख्यालै नगरी रोजगारीका लागि युवा विदेशिने गरेका छन् । रोजगारदाता कम्पनीबाहेक अनधिकृत तवरले विदेश जानेहरु बढी दुर्घटनामा परेको घटना बाहिर आउने गरेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका सूचना अधिकारी पवित्रा घिमिरे खनालले बताइन । ‘बोर्डले वैदेशिक रोजगारीमा जान इच्छुक श्रमिकका लागि तालीम दिने व्यवस्था गर्दै आएको भए पनि बिना तालीम नै उहाँहरु विदेश जानुहुन्छ,’ उनले भनिन ।

विदेशी भूमिमा काम गर्न जाने जो कोहीले प्रथमतः आफ्नो पेशामा दक्षता हासिल गर्नुपर्छ भन्ने नीति सरकारले बनाइदिए पनि स्वयम् श्रमिकले नै त्यसको पालना गर्ने गरेका छैनन् । वैदेशिक रोजगारीमा गएका श्रमिकको आकस्मिक मृत्यु भएमा बोर्डले ७ लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ । बोर्डले श्रम गर्न गएको समयावधि सकिएको एक वर्षपछिसम्म पनि मृतकको परिवारलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्