Logo

युवा पुस्ता अल्छी भएको आरोप गलत, पहिलेभन्दा गर्छन बढी काम : रिपोर्ट

युवा पुस्ता अल्छी भएको आरोप गलत, पहिलेभन्दा गर्छन बढी काम : रिपोर्ट



काठमाडौं । ‘युवा पुस्ता अल्छी भएको छ । उनीहरू कडा परिश्रमबाट टाढा रहन्छन् र आरामदायी जीवन मात्र चाहन्छन्’ यस्ता आरोपहरू प्रायः जेनेरेसन जी अर्थात् १९९५ पछि जन्मेका व्यक्तिहरू विरुद्ध लगाइन्छ । तर के यो सत्य हो ? जर्मन सरकारी संस्थानको नयाँ अनुसन्धान र तथ्यांकले यो धारणालाई पूर्ण रूपमा अस्वीकार गर्दछ ।

जर्मनीको रोजगार अनुसन्धान संस्थान (आइएबी) को पछिल्लो प्रतिवेदनअनुसार २०१५ देखि २० देखि २४ वर्ष उमेर समूहका युवाहरूको रोजगार सहभागिता दर ६.२ प्रतिशतले बढेर ७५.९ प्रतिशत पुगेको छ, जुन पछिल्ला केही दशकहरूमा उच्चतम स्तर हो । यसबाहेक, कामप्रति उनीहरूको दृष्टिकोण परिवर्तन भएको छ, तर यो परिवर्तन आलस्यको संकेत होइन बरु राम्रो काम–जीवन सन्तुलन र मानसिक स्वास्थ्यको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ ।

के नयाँ पुस्ता अल्छी छ ?

‘जेनेरेसन जी लाई कामप्रति कुनै लगाव छैन भन्ने’ आलोचना प्रायः सुन्ने गरिन्छ । जर्मनीमा प्रकाशित हालैका दुई पुस्तकहरू (बिग्रिएको, कमजोर, घाइते र काम गर्न असमर्थ पुस्ता) मा यस्तै विचार व्यक्त गरिएको छ । करियर र शिक्षाको क्षेत्रमा काम गर्ने कम्पनी ‘इन्टेलिजेन्ट’ द्वारा अगस्ट २०२४ मा गरिएको यस सर्वेक्षणमा ९६६ व्यवसायिक नेताहरूसँग कुराकानी गरिएको थियो । यी व्यक्तिहरू उच्च पदमा बस्छन् र रोजगारीका लागि भर्तीसँग सम्बन्धित निर्णयहरू लिन्छन् । सर्वेक्षणले युवा पुस्ताको काम र मनोवृत्तिका कारण धेरै कम्पनीहरूमा असन्तुष्टि बढिरहेको देखाएको छ । सबैभन्दा ठूलो गुनासो उनीहरूको दक्षता, व्यावसायिक मनोवृत्ति र टोलीसँग समन्वयको अभावको बारेमा हो ।

सर्वेक्षणले ७५ प्रतिशत कम्पनीहरूले यस वर्ष नयाँ पुस्ताको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेको पाइएको छ । जसमा मुख्य समस्याहरू थिए–काममा पहलको अभाव (५० प्रतिशत), कमजोर सञ्चार सीप (३९ प्रतिशत), र व्यावसायिक व्यवहारको अभाव (४६ प्रतिशत) । सर्वेक्षणमा सहभागी प्रबन्धकहरूले धेरै स्नातकहरूले आधारभूत जागिरका अपेक्षाहरू पूरा गर्न नसकेको बताए । यसमा समस्या समाधान गर्ने क्षमता र प्रतिक्रियालाई राम्ररी लिन नसक्ने जस्ता कमजोरीहरू पनि समावेश छन् ।

एउटा फरक तस्वीर

रोजगार अनुसन्धान संस्थानको प्रतिवेदनमा दिइएको तथ्यांकले फरक तस्वीर प्रस्तुत गर्दछ । क्ष्ब्द्य विज्ञ डा. हान्स क्लेइन्स भन्छन्, ‘युवाहरू काम गर्न चाहँदैनन् भन्नु पूर्णतया गलत हुनेछ । हाम्रो अनुसन्धानले पत्ता लगाएको छ कि २०१५ पछि, यस उमेर समूहमा काम गर्ने युवाहरूको संख्यामा सबैभन्दा बढी वृद्धि भएको छ ।’ प्रतिवेदन अनुसार, १९९५ देखि २०१५ सम्म, २०–२४ वर्ष उमेर समूहका युवाहरूको रोजगारीमा सहभागितामा निरन्तर गिरावट आएको थियो । तर २०१५ पछि यसमा तीव्र वृद्धि भयो ।

सन २०१२–२०१४ मा यो दर ७०.२ प्रतिशत थियो, जुन अहिले ७५.९ प्रतिशत पुगेको छ । २५–६४ वर्ष उमेर समूहका मानिसहरूको सहभागिता दर तर केवल २.८ प्रतिशत अंकले बढेर ८६.९ प्रतिशत पुगेको छ । अर्थात्, युवा पुस्ताको कामप्रतिको झुकाव तुलनात्मक रूपमा बढी रहेको छ । यसको पछाडिको एउटा मुख्य कारण यो हो कि युवाहरूले अब आफ्नो पढाइ चाँडै पूरा गर्दैछन् र सानै उमेरमा काम गर्न थाल्छन् । जर्मन शिक्षा प्रणालीमा, बोलोग्ना प्रक्रियाअन्तर्गत उच्च शिक्षाको अवधि घटाइएको छ, जसले गर्दा विद्यार्थीहरूले चाँडै स्नातक हुन र कार्यस्थलमा प्रवेश गर्न सक्छन् ।

के युवाहरूले कम घण्टा काम गरिरहेका छन् ?

अहिले युवाहरू प्रायः पार्टटाइम काम गर्न रुचाउँछन् भन्ने आम धारणा पनि छ । यद्यपि, प्रतिवेदनले फरक तस्वीर प्रस्तुत गर्दछ । २०१५ देखि २०२३ सम्ममा २०–२४ वर्ष उमेर समूहका युवाहरूमाझ समग्र रोजगारी दर ४.९ प्रतिशतले बढेर ७२ प्रतिशत पुगेको छ । पूर्णकालीन काम गर्नेहरूको संख्या पनि ४६.८ प्रतिशतबाट बढेर ४७.१ प्रतिशत पुगेको छ । पार्टटाइम काम गर्नेहरूको अनुपात २०.४ प्रतिशतबाट बढेर २४.९ प्रतिशत पुगेको छ ।

प्रतिवेदनमा भनिएको छ कि यसको कारण युवाहरू कामबाट टाढा रहनु होइन, बरु उनीहरूले पढाइसँगै जागिर पनि गरिरहेका छन् । प्रतिवेदनका अनुसार मुख्यतया मुद्रास्फीति र बढ्दो शिक्षा लागत (२०१५ र २०२३ को बीचमा) का कारण विद्यार्थी रोजगार सहभागिता दर १९.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

जेन जीको नयाँ दृष्टिकोण

जेनेरेसन जीबारे अर्को सामान्य धारणा के छ भने उनीहरूले ‘कार्य–जीवन सन्तुलन’ अर्थात वर्क–लाइफ ब्यालेनसमा धेरै जोड दिन्छन् । यद्यपि, विज्ञहरूले यसलाई सकारात्मक परिवर्तन मान्छन् । श्रम विज्ञ प्रा. माइकल ग्रुन भन्छन्, ‘युवाहरू अब केवल पैसा कमाउनको लागि काम गर्दैनन्, तर उनीहरू सन्तुलित जीवन चाहन्छन् । उनीहरू मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन्छन् ।’ भारत जस्ता देशहरूमा पनि, जेन–जी र सहस्राब्दी युवाहरूमा तनाव बढेको महसुस गरिएको थियो ।

ऊर्जा कम्पनी शेलले गत वर्ष पनि यससँग सम्बन्धित एक अध्ययन गरेको थियो । शेल युथ स्टडी नामले प्रकाशित यो प्रतिवेदनले युवाहरू काम गर्न चाहँदैनन् भन्ने धारणालाई पनि अस्वीकार गर्दछ । अध्ययनका अनुसार युवाहरूले अब पहिले जस्तो बारम्बार जागिर परिवर्तन गर्दैनन् । उनीहरूको औसत काम गर्ने समय अघिल्लो पुस्ताको जस्तै छ । लगभग ६८ प्रतिशत युवाहरूले मानसिक स्वास्थ्यलाई आफ्नो करियर जत्तिकै महत्वपूर्ण ठान्छन् ।

धेरै कम्पनीहरूले युवा कर्मचारीहरू पुरानो पुस्ताको तुलनामा कम वफादार रहेको र बारम्बार जागिर परिवर्तन गर्ने गरेको गुनासो गर्छन् । यद्यपि, एक सर्वेक्षणले युवा कर्मचारीहरूले आफ्नो मूल्यमान्यतासँग मेल खाने कार्यस्थल नभेटेपछि मात्र जागिर परिवर्तन गर्ने देखाएको छ । सफ्टवेयर कम्पनी एसएपीमा मानव संसाधन प्रमुख अनिता श्मिट भन्छिन्, ‘हामीले देखेका छौं कि युवा कर्मचारीहरू बढी उद्देश्यपूर्ण करियर खोजिरहेका छन् । उनीहरूले तलब मात्र हेर्दैनन्, तर कम्पनीको कार्य संस्कृति, लचिलोपन र नैतिक मूल्यमान्यताहरूलाई पनि ध्यानमा राख्छन् ।’

के जेनेरेसन जीलाई गलत बुझिँदैछ ?

तथ्यांकले स्पष्ट रूपमा देखाउँछ कि युवाहरू मेहनती मात्र छैनन्, तर उनीहरूको रोजगारीमा सहभागिता ऐतिहासिक रूपमा उच्च स्तरमा छ । २०१५ देखि २०२३ सम्ममा रोजगारी दरमा ६.२ प्रतिशतको वृद्धि, विद्यार्थीहरूको काम गर्ने प्रवृत्तिमा १९.३ प्रतिशतको वृद्धि र मानसिक स्वास्थ्य र कार्य–जीवन सन्तुलनलाई बढी महत्त्व दिने प्रवृत्ति यसका संकेत हुन् । डा. हान्स क्लाइन्सले निष्कर्ष निकाल्छन्, ‘युवा पुस्तालाई अल्छी भन्नु तथ्यांकमाथि अन्याय गर्नु हो । उनीहरूको मनोवृत्ति फरक हुन सक्छ, तर उनीहरू कामबाट भागिरहेका छैनन्, बरु आफ्नो करियर र जीवन बीच स्वस्थ सन्तुलन कायम राखिरहेका छन् ।’ अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्