काठमाडौं । नेपाली नागरिकहरुलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाई जबरजस्ती अवैध कार्यमा लगाउने गिरोहको गतिविधि बढेपछि परराष्ट्र मन्त्रालयले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, र लाओसजस्ता देशमा यात्राका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।
थाइल्याण्डको बैंकक र म्यानमारको याङ्गुन हुँदै नेपालीहरुलाई म्यानमारको कायिन प्रान्तमा जबरजस्ती अवैध कार्यमा लगाइएको तथ्यगत विवरणपछि मन्त्रालयले उक्त सूचनालाई पुनः जारी गरेको हो। यसअघि २०७९ पुसमा यस्तै प्रकृतिको एडभाइजरी जारी गरिएपछि यस्तो गतिविधिमा कमी आएको थियो।
मन्त्रालयका अनुसार पछिल्ला दिनमा मानव वेचविखन र गैरकानुनी गतिविधिमा नेपाली नागरिकलाई समेट्ने गिरोहले नयाँ गन्तव्यका रूपमा कम्बोडिया र लाओसलाई समेत लक्षित गरेको पाइएको छ। यस क्रममा ती गिरोहहरूले नेपालीहरुलाई अत्यधिक काम गराउने, राहदानी खोस्ने, चरम यातना दिने, र तलब नदिने जस्ता समस्याहरू देखिएको छ।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सामाजिक सञ्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, भिजिट भिसामा वैदेशिक रोजगारीमा जान नखोज्न, र कुनै पनि रोजगार प्रस्ताव स्वीकार गर्नुअघि सम्बन्धित कम्पनी तथा रोजगारदाताको पर्याप्त जानकारी लिन विशेष आग्रह गरेको छ।
समस्या परेका व्यक्तिहरूले बैंकक र याङ्गुनस्थित नेपाली दूतावासहरूमा सम्पर्क गरी सहयोग माग्ने क्रम बढेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले ट्राभल एडभाइजरीको पूर्ण पालना गरी यस्ता गतिविधिबाट बच्न सबैलाई सचेत गराएको छ।