Logo

एयरलाइन्सको सिन्डिकेटले तनावमा म्यानपावर व्यवसायी, वैकल्पिक उपाय खोज्ने मन्त्रीको आश्वासन

एयरलाइन्सको सिन्डिकेटले तनावमा म्यानपावर व्यवसायी, वैकल्पिक उपाय खोज्ने मन्त्रीको आश्वासन



काठमाडौं । पछिल्लो केही दिनयता अन्तरराष्ट्रिय हवाई भाडामा अस्वभाविक वृद्धि भएसँगै नेपालका म्यानपावर व्यवसायीहरुले सरकार गुहारेका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर म्यानपावर व्यवसायीहरुले नेपालबाट वैदेशिक रोजगारीका लागि मलेसिया र मध्यपूर्वका गन्तव्यमा जाने श्रमिकहरूले आर्थिक बोझ थपिएको भन्दै यसको समाधानका लागि आग्रह गरेका छन् ।

सीमित ट्राभल एजेन्सी र एयरलाइन्सहरूको मिलेमतोमा टिकटको मूल्य कृतिम रूपमा बढाइएको भन्दै म्यानपावर व्यवसायीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग ध्यानाकर्षण गराएका हुन्।

मन्त्रीसँगको भेटघाटमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरू, र अन्य सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा हालको उडान संकटले उत्पन्न समस्याबारे व्यापक छलफल भएको थियो।

व्यवसायीहरूले ट्राभल एजेन्सीहरूले सिट अभावको बहानामा अत्यधिक भाडा लिएको र सीमित एजेन्सीहरूले मात्रै सिट उपलब्ध गराउने अवस्था सिर्जना गरेर बजारमा टिकटको मूल्यमा कालोबजारी भइरहेको गुनासो गरे। युरोपका मुलुकहरूमा रहेका रोजगार मागपत्र प्रमाणीकरण नभएका कारण कामदारहरू विदेश जान नपाएको समस्याबारेको कुरा पनि छलफलमा उठाईएको थियो। मलेसिया सरकारले नेपाली श्रमिकलाई पुनः भर्ना लिन थालेको भए पनि नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरण कार्य सुरु नगरेको भन्ने गुनासो पनि व्यवसायीहरूले राखेका थिए।

बैठकमा व्यवसायीहरुले एफइआइएमएस प्रणालीलाई पछाडि पार्दै दूतावासले लागू गरेको नयाँ अनलाइन प्रमाणीकरण प्रणाली खारेज गरी पुरानै प्रणालीमार्फत प्रमाणीकरण गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरेका थिए ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय रहने गरी एक समिति गठन गरिने आश्वासन मन्त्रीले दिएका छन् ।

उक्त समितिले हाल देखिएका समस्या समाधान गर्न तुरुन्तै कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता उनले जनाए । यस्तै उनले वैकल्पिक विमानस्थलकाे रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा विमानस्थलको प्रयोग गर्ने विकल्पसमेत अध्ययन गर्ने आश्वासन दिए ।

व्यवसायीहरूले छिमेकी मुलुकहरूको विमानस्थल प्रयोगका लागि कानुनी आधार खोज्न सरकारलाई आग्रह गरेका छन्। मन्त्रीले व्यवसायीहरूको समस्यालाई गम्भीरतापूर्वक लिँदै छिटोभन्दा छिटो समाधानको व्यवस्था गरिने आश्वासन दिएका छन्।

व्यवसायीहरूका अनुसार हाल १० देखि १५ हजार रुपैयाँमा पाइने काठमाडौं–दिल्ली उडानको भाडा केही दिनमा ७० हजार रुपैयाँसम्म पुगेको छ। सस्तोमा टिकट उपलब्ध गराउने सरकारी एयरलाइन्स नेपाल वायुसेवा निगमको हकमा समेत टिकट दरमा अस्वभाविक वृद्धि भएको देखिन्छ। उडान कटौतीको कारण देखाउँदै उच्च भाडा लिईसकेपछि श्रमिक र म्यानपावर व्यवसायीहरूमा थप दबाब परेको हो।

काठमाडौं–दिल्लीको हवाई भाडा काठमाडौं–धनगढीको भाडाभन्दा सस्तो हुने बताइने गरिएकोमा हाल ठ्याक्कै उल्टो स्थिति देखिएको छ। विमानस्थलहरूमा सिट अभाव देखाएर उच्च मूल्य राख्नाले कालोबजारी भएको व्यवसायीहरूको आरोप छ।

विमानस्थल बन्दका कारण भएको उडान कटौतीको प्रत्यक्ष असर श्रमिक र म्यानपावर व्यवसायीहरूमा परेको भन्दै, पर्यटन मन्त्रीले व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्दै शीघ्र कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्