काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालबाट ७ लाख ४१ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी जिल्लाबाट ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली कामदार विदेश गएका हुन् ।
विभागका अनुसार नेपालका सतहत्तरै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुमध्ये ६ लाख ६१ हजार जना पुरुष छन् भने ८० हजार १ सय ७२ जना महिला कामदारहरु छन् ।यस्ता कामदारहरु सबैभन्दा बढी मेनपावर कम्पनीमार्फत ३ लाख ६३ हजार बढी कामदार विदेश गएका छन् ।
यस्तै यसै अवधिमा नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट ९५ हजार व्यक्तिगततर्फ पुनः श्रम स्वीकृतिबाट २ लाख ८१ हजार र जी टु जी माध्यमबाट ११ हजार जना कामदार विदेश गएका हुन् । यस अवधिमा विदेश गएका नेपालीहरुमध्ये ४ लाख ६० हजार जना नयाँ कामदार छन् ।
मधेशका जिल्लाबाट धेरै बाहिरिए
वैदेशिक रोजगार विभागका अनुसार गत बर्ष विदेशिएका नेपालीमध्ये मधेशका जिल्लाबाट सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको देखिएको छ । अन्य जिल्लाहरुका तुलनामा मधेशका केहि जिल्लाबाट उल्लेख्य मात्रामा नेपालीहरु वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखएको हो । तथ्यांक अनुसार गत आवभरी धनुशाबाट मात्रै सबैभन्दा बढी २० हजार १ सय ९३ जना वैदेशिक रोजगारीमा गएका छन् ।
यस्तै सबैभन्दा बढी विदेश जाने अर्काे जिल्लामा झापा छ । यो जिल्लाबाट गत आवभरी १९ हजार ९ सय ६० जना विदेशिएका छन् । यस्तै अन्य धेरै विदेश पठाउने जिल्लामा भने मधेशका जिल्लाकै वाहुल्यता छ ।
जसमा मोरङबाट १८ हजार २ सय २, सर्लाहीबाट १३ हजार ३ सय ९८, सिराहाबाट १६ हजार ८ सय २९, सुनसरीबाट १३ हजार ७ सय ५ र रुपन्देहीबाट १३ हजार ३ सय ५३ जना विदेशीएका छन् । यस्तै सप्तरीबाट १२ हजार महोत्तरीबाट १४ हजार, दाङ र चितवनबाट समान १० हजार जना नेपाली विदेशीएका छन् । अन्य जिल्लाहरुबाट भने १० हजार तलकै संख्यामा वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ ।
निल कमलले पठायो सबैभन्दा बढी कामदार
गत आवभरी विदेशमा कामदार पठाउने मेनपावर कम्पनीहरुमध्ये निल कमल ह्युमेन रिसोर्स कम्पनीले सबैभन्दा बढी कामदार पठाएको छ । वैदेशिक रोजगार विभागका अनुसार कम्पनीले गत आवभरी विभिन्न देशमा ७ हजार २ सय ८ जना कामदार विदेश पठाएको हो । यस्तै सबैभन्दा धेरै कामदार पठाउने दोस्रो कम्पनी भने एसओएस मेनपावर कम्पनी छ । यो कम्पनीले पनि गत आवभरी ५ हजार ७ सय ४६ जना कामदार विदेश पठाएको हो ।
यस्तै गत आवभरी एयर किङ प्लेसमेन्ट प्रालिले ४ हजार १४, प्याराडाईज म्युमेन रिसोर्सले ३ हजार ९ सय ८५, साउन्डलेस रिकृइटमेन्टले ३ हजार ८ सय ३२, द रिभर ओभरसिजले ३ हजार ७ सय ३४ जना कामदार विदेश पठाएका हुुन । यस्तै यसै अवधिमार सपोर्ट ह्युमेन रिसोर्सले ३ हजार ५ सय ९ जना, एडभान्स म्यानेजमेन्टले २ हजार ९ सय ८६ जना, आकर्षण इन्टरनेशनलले २ हजार ७ सय ६ जना कामदार विदेश पठाएका छन् ।
सिप सिकेका कामदार धेरै
नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुमध्ये सबैभन्दा धेरै कामदार सिप सिकेका रहेको पनि विभागले जानकारी दिएको छ । विभागका अनुसार गत बर्ष वैदेशिक रोजगारीमा गएका कामदारहरुमध्ये ५ लाख ३२ हजार बढी कामदारहरु सिप सिकेका छन् ।
यस्तै यसै अवधिमा कुनै सिप नभएका भने १ लाख ४५ हजार ५ सय जना कामदार विदेश गएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा उच्च सिपयुक्त ७ सय ३२ जना, प्रोफेसनल २ हजार ७ सय ७२ जना, सेमि स्किल्ड ६० हजार जना कामदार विदेशीएका छन् ।