काठमाडौं । यो वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसंघीय एजेन्सीले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर ४.९ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यो वर्ष ५.२ प्रतिशत हुने पूर्वानुमानपछि आएको हो ।
जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर ४.९ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यद्यपि आइएलओले चेतावनी दिँदै भनेको छ, ‘श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिला विशेषरूपमा प्रभावित छन् ।’
प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन् । अर्थात् उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन् । तर काम गर्न चाहने कामविनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ ।
महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ । कम आय भएका देशहरूमा महिला विशेषगरी पीडित रहेका थिए । पुरुषहरूको १५.३ प्रतिशतको तुलनामा २२.८ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थे । उच्च आय भएका देशका लागि महिलाको यो दर ९.७ र पुरुषहरूका लागि ७.३ प्रतिशत थियो ।
महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५.६ प्रतिशत महिलाहरू र ६९.२ प्रतिशत पुरुष कार्यरत रहेको उल्लेख छ । ‘विश्वव्यापी असमानता कम गर्ने हाम्रो प्रयासको बाबजुद श्रम बजार एक असमान खेल मैदान बनेको छ’, आइएलओका महानिर्देशक गिल्बर्ट होङबोले प्रेस विज्ञप्तिमा भने, ‘हामीले समावेशीकरण र सामाजिक न्यायलाई हाम्रा नीति र संस्थाहरूको केन्द्रविन्दुमा राख्नुपर्छ ।’