काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् । प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशनमा अधिकारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । उनी भ्याली पब्लिक स्कुलका प्रिन्सीपलसमेत हुन् ।
महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै लगानी गर्ने क्रममा कानुनी र नियमहरू पालना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस्। नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस्, लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस्।’ प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई सम्पत्तिको हक संविधानले नै दिएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
महाधिवेसनका अवसरमा पूर्व अध्यक्षहरू भोजबहादुर शाह, लक्ष्यबहादुर केसी र डा. विजय सम्बाहाम्फेललाई प्याब्सन गौरव र प्याब्सन रत्न पुरस्कारबाट सम्मानित गरियो।
प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका र देशभक्त नागरिक उत्पादन गर्ने दिशा साझा गर्दै, निजी विद्यालयलाई शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गरे।
प्याब्सनको १६ औं महाधिवेशनले शिक्षा क्षेत्रमा गुणस्तरीयता र समृद्धि ल्याउनका लागि निजी विद्यालयका प्रतिनिधिहरूसँगको सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
