Logo

काेलगेटकाे मुख्य प्रायाेजन रहेको ‘स्पेल बी’काे अडिसन आजबाट, २८ सय कलेजका विद्यार्थी सहभागी हुँदै

काेलगेटकाे मुख्य प्रायाेजन रहेको ‘स्पेल बी’काे अडिसन आजबाट, २८ सय कलेजका विद्यार्थी सहभागी हुँदै



काठमाडौँ । कार्यक्रम प्रस्तोता भूषण दाहालले चलाउने कार्यक्रम ‘स्पेल बी’ यस वर्षपनि आउने भएको छ। देशका विभिन्न सहरमा रहेका विद्यालयमा पुगेर त्यहाँका विद्यार्थीहरूबीच प्रतिष्पर्धा गराउने यस कार्यक्रमको पाँचाैँ सिजनको पहिलो चरणको अडिसन बुधबारबाट सुरु हुने आयोजकले जनाएको छ।

प्लस टु लेभलका विद्यार्थीहरू सहभागी हुने यस कार्यक्रममा देशभरका गरी २८ सयभन्दा बढी कलेजका विद्यार्थीहरू सहभागी हुँदैछन्। याे कार्यक्रमको सुरुवात सन् २०१७ बाट भएको हो।

कार्यक्रमको आयोजक संस्था मालिन मिडिया एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक महेश पोखरेलका अनुसार यस कार्यक्रमका प्रमुख उद्देश्य भनेकाे देशका विभिन्न सहरमा रहेका कलेजका विद्यार्थीहरूका अंग्रेजी भाषाकाे बोलाइ तथा सिकाइमा विकास गर्नु हो।

उनका अनुसार अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउन याे कार्यक्रम ल्याइएको हो।

यस कार्यक्रममा सहभागी भई प्रथमदेखि आठाैँ स्थानसम्म हासिल गरेका विद्यार्थीले स्नातक तहमा अध्ययनका लागि उनीहरूले राेजेकाे विषयमा छात्रवृत्ति पाउँछन्। यसका साथै प्रथम, द्वितीय र तृतीय हुने तीन जना प्रतिष्पर्धीले क्रमश: तीन लाख, दुई लाख र एक लाख रुपाैयाँ नगद रकम र गिफ्टकाे व्यवस्था छ।

काेलगेटकाे मुख्य प्रायाेजन रहेको यस कार्यक्रममा जाेइ पपैया सन, हिराे माेटरसाइकल, हिमालयन स्टिल अन्य प्रायाेजक रहेका छन्। चारवटा एपिसाेड कान्तिपुर टेलिभिजनबाट प्रसारण गरेको यस कार्यक्रम यसवर्ष कुनबाट गर्ने भन्ने अझै टुङ्गाे नलागेकाे आयोजक बताउँछ। यद्यपि, कार्यक्रम प्रसारण आगामी वैशाखबाट गर्ने आयोजकको तयारी रहेको छ।

कहाँ कहाँ हुन्छ अडिसन?

कार्यक्रममा राजधानी (काठमाडौँ, भक्तपुर र ललितपुर) सहित देशका अन्य सहरमा अडिशनकाे तयारी छ। पूर्वको इलाम, बिर्तामोड, विराटनगर, धरान, जनकपुर, लहान हुँदै वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेतसम्म अडिशनकाे तयारी छ।

कस्ताे छ कार्यक्रमको ढाँचा?

सुरुमा सात सय वटा कलेजका विद्यार्थीबाट थालिएकाे यस कार्यक्रममा अहिले पाँचै एपिसाेडसम्म आइपुग्दा २८ सय कलेजका विद्यार्थीहरू सहभागी गराइनेछ। कार्यक्रममा सुरुमा हरेक कलेजमा गएर त्यहाँका इच्छुक विद्यार्थीबीच अडिसन गराइन्छ। जसबाट ९३ जना विद्यार्थी छनोट गरिन्छ। यी छनोट गरिएका ९३ जनालाई स्टुडियो राउन्डमा ल्याइन्छ। स्टुडियो राउन्डमा भएको प्रतिष्पर्धाबाट छनोट भएकामध्ये उत्कृष्ट ८ जना छानिन्छ। जसबाट पनि तीन जना प्रथम, द्वितीय र तृतीय हुन्छन्।

प्रतिक्रिया दिनुहोस्