काठमाडौं । नेपालको कृषि क्षेत्रलाई सदृढ गर्दै कोरोना पछिको अर्थतन्त्र पुनरुत्थानलाई अभिवृद्धि विश्व बैंकले ८ करोड अमेरिकी डलर अर्थात करिब ९ अर्ब रुपैयाँ बराबरको सहयोग गरेको छ । एक कार्यक्रमबीच सो रकम परिचालनका लागि ‘ग्रामीण उद्यम र आर्थिक विकास आयोजना’ मा हस्ताक्षर भएको हो
उक्त सम्झौतासँगै ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गरिने भएको छ । ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।
‘यस आयोजनामार्फत प्रदान गरिएको अत्यावश्यक सहयोगका लागि हामी विश्व बैंकलाइ धन्यवाद् दिन्छौं,’ अर्थ सचिव ढुंगानाले भने, ‘यस आयोजनाले ग्रामीण उद्यमहरू र साना उत्पादक समूहहरूलाई बजार र संस्थागत खरिदकर्ताहरू सम्म जोड्नेछ ।’ साथै कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाइ स्थापित गर्दै यस आयोजना मार्फत प्रोत्साहित गरिने कृषि(व्यवसाय प्रतिस्पर्धाले कोभिड महामारी पश्चातको आर्थिक पुनरुत्थानलाई सघाउने ढुंगानाले जानकारी दिए ।
यस आयोजनाले ग्रामीण उत्पादक समूहहरू र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशिल साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गर्नेछ । साथै यस आयोजनाले उच्च मुल्यका आन्तरिक र अन्तरराष्ट्रिय बजार मुल्य श्रृंखला (भ्यालु चेन) को विकास गर्दै उक्त बजार श्रृंखलामा दीर्घकालीन समावेशीकरण लाई पनि बढावा दिनेछ ।
सो आयोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ । यस अन्तर्गत यस आयोजनाले ग्रामीण उद्यमीका लागि पर्याप्त बजारका अवसरहरू स्थापित गर्नेछ । साथै यस आयोजनाले प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था, तथा साना र मझौला कृषि उद्यमीहरूसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता इकोसिस्टमको सुदृढीकरणमा काम गर्नेछ ।
यो आयोजनाले पालिका तहका कृषि केन्द्रहरु र कृषि उत्पादनको मूल्य श्रृंखला पूर्वाधार विकासमा लगानी गर्नेछ जसका कारण कोभिड–१९ बाट प्रभावित कृषि क्षेत्रको पुनरूत्थानमा मद्दत पुग्नेछ। आयोजनाले छोटो अवधिका सार्वजनिक कार्यहरूमा श्रम–सघन ‘कामका लागि नगद’ संयन्त्रको उपयोग गर्नेछ ।
‘आयोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गर्न र अर्थिक पुनरूत्थानलाइ गति दिन एउटा विशेष अवसर जुराएको छ, जसअन्तर्गत आयोजनाले ग्रामीण उद्यम, स्थानीय रोजगारी तथा अवसरहरूको प्रवर्द्धन गर्नेछ,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने । विभिन्न साझेदारहरूसँगको अर्थपूर्ण सहकार्यलाई बढावा दिदैं यस आयोजनाले विशिष्ट नेपाली कृषि उपजहरू जस्तै कफी, चिया, फलफूल, औषधीजन्य उत्पादन सहित अन्य उत्पादनहरूलाई विश्व बजारमा पुर्याउन बाटो खोल्ने उनको भनाई छ ।