काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी बजेटमा निजी क्षेत्रको विकास साना तथा मझौला उद्योगको विकासमा बजेट केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघले बिहीबार अर्थमन्त्री युवराज खतिवडासँगको भेटमा रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषिसहित लघु, घरेलु, साना तथा मझौला उद्योगको विकासमा बजेट केन्द्रित गर्न प्रतिवेदन सुझाव दिएको हो ।
अर्थमन्त्री खतिवडालाई आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटले समेटन परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी सहितको प्रतिनिधिमण्डले बजेटका नीतिगत तथा विषयगत सुझावहरु प्रस्तुत गरेको हो ।
सुझावमा विस्तारकारी वित्तीय नीति सहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाई समयमा खर्च गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । बजेटमार्फत रोजगारी सृजनाका लागि व्यवसायिक कृषिमा लगानी आकर्षित गर्न १० वर्षका लागि आयकर छुट दिन तथा लघु, साना तथा मझौला उद्योगको विकासमा लागि लगानी जुटाउन ग्यारेण्टि कोष खडा गर्नसमेत आग्रह गरिएको अध्यक्ष मोरले जानकारी दिएका छन ।
उनले उद्योगहरुका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी ३ वर्षका लागि कम्तिमा ५ प्रतिशतले कम गर्न, अर्थव्यवस्थामा तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्तालगायत सरकारले भुक्तान गर्नु पर्ने सम्पूर्ण रकम तत्काल भुक्तान गर्ने व्यवस्था मिलाई बजारमा तरलता कम हुन नदिन आवश्यक मौद्रिक उपायहरु तर्फ बजेट केन्द्रित हुनु पर्ने परिसंघले माग गरेको बताए ।
बजेटले समग्र क्षेत्रका सुझावमा वर्तमान विषम परिस्थितिमा सरकारी राजस्व कम हुने जोखिम भए पनि बजारको समग्र मागलाई बढाउन व्यक्तिगत आयकरको सीमालाई बढाउन गर्न आग्रह गरिएको छ । चालु आर्थिक वर्षमा घाटामा रहेका उद्योगहरुलाई बढीमा ५ प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्नसमेत आग्रह गरिएको अध्यक्ष मोरले जानकारी दिएका छन । साथै एक खर्बको पुनर्कर्जा कोष निमार्ण गर्नसमेत परिसंघले आग्रह गरेको छ ।
औद्योगिक प्रवद्र्धनका नीतिहरु कम्तिमा पाँच बर्षका लागि स्थायी हुनु पर्ने, बजेटमार्फत हरेक निर्यातमा मुल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गर्नु पर्ने, नेपाली वस्तु निर्यात गर्न सहज हुने गरी निकासी गृह को व्यवस्था गर्न, तथा नेपाली उद्योगहरुलाई प्रतिस्पर्धी बनाउदै अर्थतन्त्रलाई विस्तार गर्न स्वदेशी उद्योगलाई विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्नसमेत परिसंघले आग्रह गरेको छ ।
परिसंघले बजेटले रोजगारी श्रृजना, स्वदेशी उत्पादन तथा निर्यात प्रवद्र्धन, व्यवसायिक कृषि र लघु साना तथा मझौला उद्योगको प्रवद्र्धन, लगानी योग्य रकममा पहुँच बढाउने उपयुक्त नीति ल्याउने बजेट आउनु पर्ने सुझाव दिएको छ । बजार माग बढाउने, राजस्व नीतिमा करको दर नबढाई दायरा विस्तारमा ध्यान दिनसमेत परिसंघले आग्रह गरेको छ ।
उक्त भेटमा अर्थमन्त्री खतिवडाले आगामी बजेटमा लगानी बृद्धि गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने किसीमको आउने बताएका छन । उनले सरकारसँगै रहेको भन्दै नेपालको उत्पादन निर्यात गर्न के कस्ता कुराहरु समेटिनु पर्ने हो त्यो सरकारले हेरिरहेको र नेपालका उद्योगीहरुले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा निजी क्षेत्रसंगको छलफलमा परिसंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष त्रय अनुज अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाललगायतका सहभागिता रहेको थियो ।