काठमाडौं । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म ३७ करोड राजस्व संकलन गरेको छ ।
कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजस्व शीर्षकबाट ३७ करोड १६ लाख २९ हजार २ सय ४२ रुपैयाँ राजस्व संकलन गरेको हो ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख गम्भीरसिंहका अनुसार अघिल्लो आव २०७४/७५ मा उठेको राजस्व बराबरको रकम चालू आव सकिनु भन्दा एक महीना अगाबै संकलन भएको हो ।
अघिल्लो आवमा कार्यालयले ३७ करोड ३८ लाख ३२ हजार ४८० रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसैगरी आव २०७४/७५ को साउन महीनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य सुरु गरेको कार्यालयले हालसम्म १३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
प्रमुख विष्टले हालसम्म स्मार्ट लाइसेन्सका लागि करीब २९ हजार ५ सय ८२ जनाले आवेदन दिएको र तीमध्ये १३ हजार २ सय ४४ जनालाई लाइसेन्स वितरण गरिएको बताए । यातायात व्यवस्था कार्यालय सेतीले सुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो ।
हाल नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपि बनाउने, थप सवारी चालक अनुमतिपत्र बनाउने लगायतलाई पनि उक्त लाइसेन्स वितरण गरिँदै आएको जानकारी दिएको छ /रासस