Logo

लगानी सम्मेलनमा विदेशी लगानी भित्र्याउन अर्थमन्त्री बेलायत प्रस्थान, यस्ता छन् प्रचारप्रसारका कार्यक्रम

लगानी सम्मेलनमा विदेशी लगानी भित्र्याउन अर्थमन्त्री बेलायत प्रस्थान, यस्ता छन् प्रचारप्रसारका कार्यक्रम



काठमाडौं । चैतमा हुने लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरु भित्र्याउनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा बेलायत प्रस्थान गरेका छन् । उक्त सम्मेलनका बारेमा बेलायतका लगानीकर्ता तथा त्यहाँ रहेका गैर आवासीय नेपालीलाई जानकारी गराई नेपालमा लगानी भित्र्याउन लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा बेलायत गएका हुन् ।

बिशेषगरी संयुक्त बेलायतका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपाल सरकारद्वारा आगामी २९ मार्चमा हुने लगानी सम्मेलनलाई सहयोग पुर्याउने गरी यही फेब्रुअरी २२ मा हुने बेलायतस्थित नेपाल दूतावासले आयोजना गर्न लागेको नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी जनाउने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

साथै, भ्रमणको क्रममा उनले गैर आवासीय नेपाली सघ, वेलायत र नेपाल वेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा पनि सहभागी जनाउनेछन् । नेपाली राजदूतावासमा आयोजना हुने नेपाल विकास सम्मेलनमा संयुक्त अधिराज्य सरकारको अन्तरराष्ट्रिय सहयोग विभाग र काठमाडौंस्थित वान टु वाच संस्थाको समेत सहकार्य रहने छ । उक्त सम्मेलनमा बेलायती संसदका ३ जना संसद, काठमाडौं स्थित बेलायती सहयोग नियोगका प्रमुख रुरीक मार्सडेन, संयुक्त अधिराज्य सरकारका अन्तरराष्ट्रिय व्यापार विभागका उपनिर्देशक लगायत वक्ताको रुपमा सहभागी हुनेछन् ।

भ्रमणवाट नेपाल र संयुक्त अधिराज्यबीचको पारस्परिक हित अभिबृद्धिमा सहयोग पुर्याउनुका अतिरिक्त नेपालमा आयोजित लगानी सम्मेलनमा संयुक्त अधिराज्यका सम्भाव्य लगानीकर्ताहरुलाई सहभागी गराउन समन्वय गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्