Logo

अमेरिका चीन व्यापारयुद्ध, व्यापारबारे पछिल्ला अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य नहुने’

अमेरिका चीन व्यापारयुद्ध, व्यापारबारे पछिल्ला अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य नहुने’



काठमाडौं । वासिङ्टनद्वारा गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बताएको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेको समय चीन र अमेरिकाबीच आक्रामक भनाईहरू आइरहेका छन् ।

चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै गत मङ्गलबार वासिङ्टनले चीन आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिबर्तन गर्न तदारूकता नदेखाएको र पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको देखिएको बताएको थियो ।

बिहीबार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको बाणिज्य मन्त्रालयले वासिङ्टनको भनाईहरूको खण्डन गरेको छ । मन्त्रालयलका प्रवक्ता गाओ फेङले भने, ‘वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाइएको छ, चीनलाई यो सह्य छैन ।’

चीनले रोबेटिक्स र नवीकरणीय उर्जा क्षेत्रमा विभिन्न गैरकानूनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकिकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दावी गरेका थिए । अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तीको आरोप लगाएका थिए ।
यसै बिषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने २ खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो ।

गाओले सञ्चारकर्मीसँग भने, ‘हामी चाहन्छौँ अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई विगार्ने किसिमका भनाई तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पूरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग नोभेम्बर अन्त्यमा अर्जे्न्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्