Logo

अमेरिका चीन व्यापार युद्ध, अमेरिकाद्धारा करिब २ खर्ब डलरका चिनीया सामानमा करवृद्धि लागु

अमेरिका चीन व्यापार युद्ध, अमेरिकाद्धारा करिब २ खर्ब डलरका चिनीया सामानमा करवृद्धि लागु



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करिव २ खर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि लागु भएको छ । पछिल्लोपटक राष्ट्रपति ट्रम्पले गरेको उक्त घोषणा सोमबारदेखि लागु भएको हो ।

उक्त करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।

योसँगै अमेरिका प्रवेश गर्ने कूल २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ । विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ ।

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले चीनले स्वच्छ व्यापारलाई बढावा नदिए चीनबाट आपूर्ति हुने सबै सामानमा करवृद्धि गर्ने चेतावनी दिएका छन । चीनले खासगरी बजारको लोभ देखाएर अमेरिकी उच्च प्रविधि, रोजगारी र ठूला उद्योग सुटुक्क चीन लगेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

बदलामा बेइजिङले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने घोषणा गरिसकेको छ । चीनले ५ हजार २ सय किसिमका अमेरिकी सामानमा ५ देखि १० प्रतिशत करवृद्धि गर्ने लक्ष्य राखेको छ । यो सहित अमेरिकाबाट आयात हुने करिब १ सय १० अर्ब डलर बराबरका सामानमा कर लाग्नेछ । अर्थात् अमेरिकाबाट आयात हुने सबै वस्तुमा अब कर लाग्नेछ ।

तर राष्ट्रपति ट्रम्पल तेस्रो चरणको करवृद्धि पनि हुने चेतावनी दिएका छन । उनले चीनबाट आयात हुने अरु २ सय ६७ अर्ब डलर बराबरका सामानमा करवृद्धि गर्ने उल्लेख गरेका छन । यो चेतावनी कार्यान्वयनमा आए चीनबाट आयात हुने सबै वस्तुमा करवृद्धि हुनेछ ।

विश्वका यी दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको संवाद पनि पछिल्ला समय पातलिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले सेप्टेम्बरमा वासिङ्टन पठाउने भनिएको वार्ता टोलीको यात्रा कार्यक्रम रद्द गरेको छ । गत अगस्टको अन्त्यतिर भएको वार्तामा पनि खासै प्रगति भएको थिएन ।

अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । कोषका प्रवक्ता गेरी राइसले करवृद्धिले दुवै मुलुकका साथै विश्वका अन्य राष्ट्रमा पनि प्रभाव पार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्