Logo

झन् गहिरिदैं भारतसँगको व्यापार घाटा, ओलीले सम्झाउलान त मोदीलाई ?

झन् गहिरिदैं भारतसँगको व्यापार घाटा, ओलीले सम्झाउलान त मोदीलाई ?



भारतीय प्रधानमन्त्री आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुरदेखि आफ्नो यात्रा सुरु गर्दै छन् । जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरेपछि त्यहाँ सर्वसाधारणलाई सम्बोधन गर्ने उनको कार्यक्रम छ । अलि बढी धार्मिक किसिमको देखिएको उनको यो यात्राका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति, उपराष्ट्रपति र प्रमुख राजनीतिक दलका नेतासँग उनको भेटघाट हुनेछ ।

भारत नेपालको छिमेकी मात्र होईन । नेपालको अन्तरराष्ट्रिय व्यापारको सबैभन्दा ठूलो हिस्सेदार पनि हो । कुल व्यापारको एक तिहाई भारतसँगै निर्भर छ । तर यो दोहोरो व्यापारमा भारतसँगको व्यापार घाटा वर्षेनी उकालो लाग्दो छ । भन्सार विभागको ९ महिनासम्मको भन्सार तथ्याङ्क अनुसार नेपालले भारतबाट ५ खर्ब ७६ अर्ब रुपैयाँको बस्तु आयात गरेको छ ।

जबकी यहिं समयमा ३४ अर्ब २८ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।  यस हिसाबले ९ महिनामै नेपालले भारतसँग ५ खर्ब ४१ अर्ब रुपैयाँको घाटा व्यहोरेको छ । यो घाटा नेपालले अहिलेसम्म सङ्कलन गरेको राजस्व बराबर हो । गत आर्थिक वर्षको ९ महिनासम्म यस्तो घाटा ४ खर्ब ३८ अर्ब रुपियाँ थियो । भारतसँगको नेपालको व्यापार घाटा निरन्तर बढीरहेको तथ्याङ्कले प्रष्ट पार्छ ।

स्वदेशी उत्पादनलाई बढाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य सार्वजनिक गरिरहेका प्रधानमन्त्री ओली भारतसँगको चुलिदो.व्यापार घाटाका विषयमा मोदीसँग छलफल गर्ने अपेक्षा गरिएको छ । खासगरी भारतँगको रेल सम्झौतापछि उनले निजी क्षेत्रसँगको भेटमा ‘डिब्बामा भरेर सामान लैजाने’ वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।

स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर व्यापारमा भारतसँग बढ्दो परनिर्भरता घटाउने प्रयासमा ओलीले मोदीसँग छलफल गर्न सकेमा त्यसले ठूलो अर्थ राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL