काठमाडौँ । संसदमा आजदेखि प्रि बजेट छलफल सुरु हुने भएको छ । संघीय संसदमा सरकारका तर्फबाट पेस भएको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामा आजदेखि छलफल हुन लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका थिए ।
सो विषयमा आज ११ बजेदेखि छलफल सुरु हुने भएको छ । अर्थ मन्त्रीले पेश गरेको सिद्धान्त र प्राथमिकता अनुसार सरकारले संविधान कार्यान्वयन, मौलिक हक प्रचलन, गरिबी निवारण लगायतलाई प्राथमिकता दिएको छ भने भूकम्पपछिको पुनर्निर्माण, ठूला परियोजना सञ्चालनसहित दिगो आर्थिक समृद्धिको परिकल्पनालाई सिद्धान्त तय गरेको छ।
यसैगरी सबै नेपालीलार्य उद्यमशिल भई आफ्नो सीप र क्षमताको उपयोग गरी आर्थिक क्रियाकलापमा सहभागी हुने अबसर सिर्जना गरिन छ । सो कार्यका लागि उपलब्ध सबै स्रोत र अवसरहरुको उच्चत प्रयोग गरिने अर्थमन्त्रीद्वारा पेश भएको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । साथै सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भएको छ भने सिमान्तकृत बर्ग र समुदायको लागि विशेष आर्थिक सुरक्षाको व्यवस्था गरिने छ । विद्यमान सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई समायोजना र एकिकरण गरी सोको दायरा समेत फराकिलो बनाईने छ ।
यसैगरी वित्तीय संघीयतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न केन्द्रमा रहेका प्रदेश र स्थानीय सरकार मातहतमा हुनुपर्ने आयोजना स्रोतको सुनिश्चिततासँगै हस्तान्तरण गर्ने नीति लिएको छ । प्रदेश र स्थानीय तह मातहतबाट सम्पन्न हुने परियोजनामा कुनै पनि कार्यक्रममार्फत केन्द्रले बजेट विनियोजन नगर्ने गरी सिद्धान्त तय भएको छ ।