काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने वैदेशिक लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांक अनुसार त्यस्तो लगानी करिव ४५ प्रतिशतले बढेको हो।
गत वर्षको सो अबधिमा कुल प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अबधिमा यस्तो लगानीमा उच्च वृद्धि हुँदै ७ अर्ब ४५ करोड पुगेको हो ।
पछिल्लो समय नेपालमा सूचना प्रविधि, सेवा उद्योग र पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्रने क्रम बढेको छ । सरकारले बजेट तथा अन्य नीतिहरुमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेसँगै त्यस्ता क्षेत्रमा वैदेशिक लगानी पनि वृद्धि हुँदै गएको छ ।