काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशले माग गरेका निर्देशिका चाँडै बनाउने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवमा उनले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको बताए ।
औसत काम गरेर दिन बिताउने पक्षमा सरकार नरहेको पनि उनले बताए । २९ ऐन अध्यादेशमार्फत संशोधन गरिएको उनले उल्लेख गरे ।
उनले समयाभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए । मुलुकको अर्थतन्त्र केही समयअघिदेखि दबाब र चापमा रहँदै आएको उनले सुनाए ।
सरकारले अर्थतन्त्रका समस्यालाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको उनले बताए । “हाम्रो मुलुकको अर्थतन्त्र केही समयअघिदेखि दबाब र चापमा रहँदै आएको छ । हामीले अर्थतन्त्रका समस्याहरूलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेका छौँ । क्रमशः यस दिशामा सफलता पनि प्राप्त गरेका छौँ,” उनले भने ।
समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको उनले उल्लेख गरे । ‘हामी अहिले प्राप्त भएको सफलतामा चित्त बुझाएर बस्ने पक्षमा छैनौँ, अरू थप सफलता, अरू थप उपलब्धि चाहन्छौँ,’ उनले भने । हालै ल्याइएका अध्यादेश संसद्मा लगेर ६० दिनभित्र अनुमोदन गरिने उनले बताए ।